धादिङ – पुर्व युवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रष्टले धादिङ तसर्पुका भुकम्प पिडितहरुलाइ राहत स्वरुप जस्तापाता वितरण गरेको छ । पुर्व राजपरिवारका सदस्यहरुले भुकम्प पिडितहरुको सहयोगका लागि केही पनि नगरेको भन्ने जनगुनासो आइरहको बेला शनिबार हिमानीले भुकम्प पिडितहरुलाइ जस्ता वितरण गरेकी हुन् ।
दक्षिणी धादिङको तसर्पु गाउँ विकास समितिको वडा नं ३, ४, ५, ६ र ७ का ४ सय ६१ घरधुरीलाइ जस्तापाता दिएकी छन् । गत बैशाख १२ र २९ गते गएको भुकम्पका कारण तसर्पुका करिव ६० प्रतिशत घरहरु भत्किएका छन भने ३ जनाको मृत्यु भएको छ ।भुकम्प पिडितलाइ जस्तापाता वितरण गर्दै पुर्व युवराज्ञी हिमानी शाहले एक नेपालीलाइ दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरिन् । ‘कोही कसैलाइ पनि निषेधको भावमा हेर्नुहुदैन । विपत्ति भनेको सवैलाइ पर्ने कुरा हो । विपत्तीले धनी गरिव सानो ठुलो केही पनि भन्दैन । त्यसैले हामी सवै मिलेर यो विपत्तीको सामना गर्नुपर्दछ ।’ हिमानीले भनिन । धादिङ तसर्पुका जनताले हिमानी ट्रष्टलाइ चिठि लेखेरै जस्तापाता र राहत माग गरेपछि आफु यो क्षेत्रमा जस्तापाता लिएर आएको बताइन ।
गाउँ विकास समितिका सवै घरधुरीलाइ वितरण गर्ने योजना बनाएको भएपनि बजारमा जस्तापाता खरिद गर्न नसकिएकाले अहिले ५ वटा वडामा मात्र वितरण गरिएको हिमानीले बताइन । यसअघि हिमानी ट्रष्टले काठमाण्डौ भक्तपुर लगायतका क्षेत्रका भुकम्प पिडितहरुलाइ लक्षित गरेर राहतहरु वितरण गरिरहेको भएपनि हिमानी स्वयं उपस्थित भएर राहत वितरण गरिएको भने यो पहिलो हो । हिमानी ट्रष्टले उपलब्ध गराएको जस्तापाता पाएपछि स्थानिहरु खुसी भएका छन । जस्तापाता बुझेपछि तसर्पुका सोम बहादुर तामाङले भने, ‘जस्ता नभएर रुखमुनी रात विताउनुपर्ने दिन हटेको छ । अव हामी सवै मिलेर घर बनाउनपट्टि लाग्छौ ।’ स्थानीयहरुलाई उदृत गर्दै गाविस सचिव लेखनाथ भुसालले भने । जस्तापाता नपाएका अन्य वडाका स्थानियहरुले भने गाविस सचिव समक्ष आफुहरुले पनि जस्तापाता पाउनेपर्ने गुनासो राखेका छन् ।
यता जिल्ला दैवि प्रकोप उद्धार समितिले भने हिमानीले तसर्पुमा राहत वितरण गरेको भन्ने विषयमा आधिकारी जानकारी नभएको बताएको छ । हिमानी जस्तापाता लिएर दक्षिणि धादिङमा आउदैछिन भन्ने सुचना त आएको हो तर जिल्ला दैवि प्रकोप उद्धार समितिमा राहत वितरणको कुनै आधिकारिक दर्ता राखिएको छैन ।
दोस्रो चरणको राहत वितरण तथा जस्ता पाता वितरण जिल्लाभरिका भुकम्प पिडितहरुलाइ एकद्वार प्रणालीवाट वितरण गर्ने जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय भएपनि हिमानीले आफुखुसी तसर्पुमा गएर जस्तापाता वितरण गरेकाले समितिमा दर्ता नभएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।