
२१ साउन, जापान-
आसन्न गैर आवासिय नेपाली संघ जापानको अध्यक्ष पदको लागि किरण बर्माले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । बर्मा एनआरएन जापान अन्तरगत क्युसु क्षेत्रको लागि सन् २०१३–१५ मा उप–संयोजक र २०१५–१७ को मा क्युसु क्षेत्रकै संयोजकको रुपमा रहेका थिए ।
बर्मा प्रवासी नेपालीहरुको साझा चौतारी एनआरएनएसँग बर्मा लामो समयअघिदेखि जोडिएर काम गर्दै आएका छन् ।
उनले क्युसु क्षेत्रको जिम्मेवारी सम्हालेसँगै ‘काम बोलेर होईन गरेर देखाउनुपर्छ’ भन्ने भावनाका साथ केन्द्रसँग अधिकतम हातेमालो गरेर काम गरेको दावी गरेका छन् । उनको कार्यकालमा मह जोडीको कार्यक्रम, नेपाल फेस्टिवल (वैशाखी मेला) जस्ता कार्यक्रमहरु जापानमा आयोजना भएको थियो ।
केन्द्रले स्थापना गरेको राहत कोषमा सहयोगदेखि कुमामोतोमा भूकम्प गएको बेला एनआरएनए जापानले गरेको सहयोगमा एनआरएनए क्युसुले पनि उच्च योगदान रहेको र नेपाली समाजमा भईपरी आउने हरेक समस्या समाधानमा अग्रसर रहँदै आएको उनले दावी गरेका छन् । विशेषगरी जापानमा अध्ययनरत विद्यार्थीहरुलाई उपेक्षा गरिंदै आएकोमा उनले आफनै पहलमा एनआरएनको सदस्यता दिलाउन सकिएको बताएका छन् ।
विगतदेखि नेपाली समाजसँग जोडिएर काम गरिरहँदा थप इच्छाशक्ति, दृढता र प्रतिवद्धताका साथ अगाडि बढ्ने अठोट गरेकाले एनआरएन जापानको वर्ष २०१९–२०२१ को लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन् । आफुलाइ जिताएको खण्डमा गौरवशाली विगतलाई अझ सशक्तरुपमा निरन्तरता दिने र जापानबासी नेपालीको हक, हित र विविध समस्याहरुको समाधानमा पूर्ण इमान्दारिता र निष्ठाका साथ दृढ भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्ता छन् बर्माका चुनावी एजेन्डा :
१. व्यक्तिगत र संस्थागत तहमा इमान्दारिता र पारदर्शितालाई प्रवर्द्धन गर्ने ।
२. संस्थाको केन्द्रिकृत संरचनालाई विकेन्द्रिकृत गर्दै सार्वभौम सदस्यहरुको अधिकार र भूमिकालाई स्थापित गरेर प्रत्येक क्षेत्रमा अधिकारसम्पन्न क्षेत्रीय समितिको अवधारणालाई कार्यरुप दिने ।
३. संस्थागतरुपमा सहभागितामुलक लोकतन्त्रको अधिकतम् अभ्यास गर्दै प्रवासी नेपालीहरुको भावना, चाहना र आवश्यकताअनुसार संस्थालाई अगाडी बढाउने ।
४. १४ वटै क्षेत्रको विशेषता र मौलिकताको पहिचान र प्रवर्द्धन गर्न सबै क्षेत्रमा पालैपालो एनआरए जापानको नियमित बैठक राख्ने ।
५. वैधानिकरुपमा जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई एनआरएनएप्रतिको चासो र उत्साह जगाउँदै एनआरएनएमा समावेश गराउने, त्यसका लागि हाल भनेको एनआरएनएको सदस्यतालाई नवीकरण मात्र गर्ने प्रक्रियामा जाने
६. जापानमा सिकेका ज्ञान, सिप र धारणालाई मातृभूमि नेपालको विकास र समृद्धिको पक्षमा लगानी गर्ने वातावरण निर्माण गर्ने ।
७. संस्थागत विकास र सदस्यहरुको चौतर्फी हित प्रवर्द्धन गर्नेगरी बहुपक्षीय साझेदारीमार्फत् संस्थागत क्रियाशिलतालाई अभिवृद्धि गर्ने ।
८. संस्थाको हालसम्मको गतिविधिको समीक्षा गरी सकरात्मक कामहरुलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने र संस्थाको घोषित उद्देश्य हासिल गर्नको लागि आवश्यक रणनीति र कार्यनीतिहरुको तय गर्दै त्यसलाई अधिकतम् कार्यान्वयन गर्ने ।