३० असार, धादिङ –
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणाधिन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा बाढी पस्दाँ करोडौँको क्षति पुगेको छ । आइतबार रातभरको वर्षासँगै मलेखु खोला बढेपछि उद्योगमा रहेको एक वटा स्काभेटर, दुई वटा जीप, र दुई वटा ट्रिपर बगाएको छ भने निर्माणका क्रममा प्रयोग हुने सबै जसो मेसिनरी सामानहरु बगाएको छ ।
दुई दिन अघिदेखि लगातार परिरहेको बर्षाले मलेखु खोलाको बाहव बढाएको थियो । आईतबार रातीको सिफ्टमा काम गरिरहेका मजदुर सोमबार बिहान एक बजे सम्म निर्माण स्थलमै रहेका थिए । राती खोलाको वहाब बढ्दै गएपछि उद्योगले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थल तर्फ जान भनेका थिए । बगरमा रहेका केही मजदुर तथा प्राविधिकहरुलाई आवास खाली गराएर नजिकैको पिपलभन्ज्याङ माविमा सारिएको थियो ।
बाढीले सिमेन्ट उद्योगको मुल स्टोरमा क्षति पुगेको छ । निर्माण स्थल बाढीले भरिएको छ भने उद्योगका संरचनाहरु पुरिएका छन् । उद्योग रहेको ठाउँको बीचबाट खोला पसेपछि कामदारहरुको समेत विचल्ली भएको छ । मानवीय क्षति नभएपनि कामदारहरु बस्ने सबै घरमा क्षति पुगेको उद्योगका नेपाली प्रतिनिधि डिल्ली पोखरेलले बताए ।
चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा निर्माण थालिएको १५ अर्ब लगानीको सिमेन्ट उद्योग चार महिना अघिदेखि निर्माण सुरु गरिएको हो । चार महिना अघि संघिय संसदका सभामुख कृष्णबहादुर महराबाट शिलान्यास भएको सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम भईरहेको छ । उद्योग निर्माणका लागि चीनकै हन्दन सिनोमा कम्पनीले ठेक्का लिएको थियो ।
पृथ्वीराजमार्गको मलेखु्बाट ११ किलोमिटर दक्षिणमा रहेको ताल्तीमा ६ सय २० जना कामदार तीन सिफ्टमा निर्माणको काममा जुटेका छन् । उद्योग निर्माणको काममा २ सय ७० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार खटिएका छन । उद्योग ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने उद्योग सञ्चालनमा आएपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको छ ।
२०७६ असार ३० गते प्रकाशित