१२ जेठ, धादिङ –
डेंगु रोगको संक्रमण फैलन नदिन धादिङमा सर्तकता अपनाइएको छ । अघिल्ला वर्षहरुमा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत नीलकण्ठ नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यसंस्था, टोलसुधार समिति, संचारकर्मी लगायतका सरोकारवालाहरुबीच छलफल गरिएको छ ।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको उपचारको पहिचान भएको छैन । न्युनिकरण गर्न र रोग फैलन नदिन डेंगु रोग सम्बन्धि स्थानीय तहमा अभिमुखिकरण कार्यक्रम गरिएको महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलले बताए । ‘लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट बच्नका लागि बेलैमा सजकता अपनाउन जरुरी छ’, उनले भने, ‘डेंगुको विषाणुद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।’
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो एक प्रकारको ज्वरो हो । डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोग ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी पाइने भएकाले सहरको रोग पनि भनिन्छ । खासमा एडिस एजेप्टाइ नामक लामखुट्टेले डेंगु ज्वरो संक्रमित मानिसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुन्छ, त्यो लामखुट्टेले सद्धे मानिसलाई टोकेपछि डेंगु सर्दछ ।
डेंगु रोग भएपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिने लगायतका लक्षणहरु देखा पर्दछ । रोगबाट बच्न लामखुट्टे टोकाईबाट जोगिने, लामखुट्टेका लाभ्राहरु बढ्न नदिने, वरिपरि पानीहरु जम्न नदिने, पानी ढाकेर राख्ने लगायतको उपायहरु अपनाउन आवश्यक रहेको उनले बताए ।
जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा ७६ जना, ०७४/०७५ मा ६ जना र यो वर्षको सुरुवातीमा ५ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय धादिङका निमिक्त प्रमुख विष्णु रिजालले बताए ।
खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टीतेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकी आदिमा यसले फुल पार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ । डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले सकेसम्म पानी जम्मा गरेर नराख्न, राख्नै परे हप्ताको २ पटक परिवर्तन गर्न, शरीर ढाक्ने कपडा लगाउन तथा झुल लगाएर सुत्न, लगातार ३–४ दिन ज्वरो आए तुरुन्त परिक्षण गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
२०७६ जेठ १२ गते प्रकाशित