६ जेठ, धादिङ –
देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यका साथ अप्टिकल फाइबर बिछ्याइने कार्यको थालनी भएको छ । पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी सोमबार धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा मुख्य कार्यलय हुने गरि औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे ।
प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने काम सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा दिएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभत्रि पूरा हुने बताए । ‘सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न यो महत्वपूर्ण प्रविधि हो’, उनले भने, ‘अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्छ ।’
सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ अप्किटल बिछ्याउने परियोजना सुरुवात गरिएको हो । सूचना प्रविधिलाई जोड्न टेलिकमले मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर टेलिकमले मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पु¥याउने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए ।
तीन प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता गरी चार अर्ब ८८ करोड रुपियाँमा टेलिकमलाई जिम्मा दिएको छ । सम्झौता अनुसार दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ ।
बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत देशैभर करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको छ ।
धादिङसहित सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरिएको छ ।
२०७६ जेठ ६ गते प्रकाशित