Wed. Nov 27th, 2024

धादिङबेसी–सल्यानटार सडकखण्ड : स्तरोन्नतीसहित कालोपत्रे सुरु

सरिता श्रेष्ठ /२३ बैशाख,  धादिङ –

निर्माणाधिन धादिङबेसी–सल्यानटार आरुघाट सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ । धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्वपूर्ण सडकको रुपमा चिनिएको योे सडकको धादिङबेसी र टारीबेसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको छ ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने २६ किलोमिटर लम्बाईको सडक आगामी असार मसान्तसम्ममा स्तरोन्नतिसहित कालोपत्रे सक्ने गरी काम भइरहेको छ । दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरि २०७३ पुस १४ गते सडक निर्माणका लागि सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि २०७६ असार मसान्तभित्रमा निर्माण कार्य सक्ने गरी म्याद थप गरिएको थियो ।

कुल ७० करोड ११ लाख ७३ हजार रुपैया भ्याट सहितको रकममा काम सम्पन्न गर्ने गरि लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा लिएको छ । २६ किलोमिटर कालोपत्रे गर्नका लागि दुई खण्डमा छुट्टाएर काम सुरु गरिएको छ ।

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रुपमा निर्माण सुरु गरेपछि धादिङबेसी–सल्यानटार सडकको ट्रयाक सुरु भएको थियो । सडकको ट्रयाक निर्माण भएपछि मर्मत सम्भारको लागि एक करोडको हाराहारीमा खर्च भइरहेपनि सडकको अवस्थामा भने सुधार आउन सकेको थिएन ।

सडक कालोपत्रे भएसंगै धादिङबेसीदेखि सल्यानटारसम्म पैतालीस मिनेटमा नै पुग्न सकिन्छ । सो सडक खण्डको ६० प्रतिशत काम सम्पन्न भई सकेको निर्माण कम्पनीले जनाएको छ । प्रत्येक दिन सरदर एक किलो मिटर सडक स्तरोन्नति गर्ने काम भइरहेको छ ।

सडक कालोपत्रे सुरु भएपछि छेउछाउका स्थानीयहरु पनि खुसी भएका छन् । यस सडक हुँदै धादिङको उत्तरी क्षेत्र र गोरखाका विभिन्न ठाउँहरुमामा आवातजावतका लागि सहज हुनेछ भने सामान ओसार्ने सहज हुने स्थानीयको भनाई छ ।

सडक निर्माणमा ढिलासुस्ती हुँदा वर्षायाम सुरु नहुँदै स्थानीय बासिन्दाले वर्षौलेखि सास्ती भोगिरहेका थिए । भूकम्पपछि घर बनाउने निर्माण सामाग्री लैजान सार्है गाह्रो र महङगो मूल्य तिर्नु परेको थियो । सडक स्तरोन्नति भएपछि सल्यानटार, आगिन्चोक, ज्यामरुङ लगायत दर्जनौँ गाउँहरुमा उत्पादित कृषिजन्य सामग्रीहरु बजारसम्म ल्याउन सहज हुनेछ ।

२०७६ बैशाख २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: