१२ बैशाख, धादिङ –
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्नका लागि धादिङ र नुवाकोटको सिमानामा बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गरिने भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल काठमाडौँको सहयोगमा निर्माण गर्न लागिएको हो । ल्यान्डफिल साइटको बिहिबार एक कार्यक्रमको आयोजना गरि सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गरे । शिलान्यास गर्दै उनले धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई सेनेटरी ल्यान्डफिल्ड साइडमा अबको दुई महिनामा फोहोर व्यवस्थापन गर्न सकिने बताए ।
मन्त्री राईका अनुसार पहिलो चरणमा फोहोर फाल्ने परियोजना अघि बढ्ने छ भने दोस्रो चरणमा उक्त परियोजना संचालनका लागि भवन बन्ने छ । परियोजनमा २० हजार लिटर क्षमता भएको दुई ट्याङ्की, ३० मिटर अग्लो ड्यामसहित अन्य पूर्वाधारको ल्यान्डफिल्ड निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।
अब बन्ने नयाँ संरचनासँगै अब बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जनको नयाँ संरचना बन्ने छ । कोहोलपुर खोलालाई फर्काएर ड्याम्प बनाउन लागिएको छ । उक्त खोलामा पुल भने बनिसकेको छ । गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारले उक्त परियोजनाका लागि एक हजार सात सय ८१ रोपनी जग्गा अधिकरण गरेको छ । मन्त्रालयले यो पूर्वाधार बनाउन एक अर्ब ६५ करोड रुपैयाँ खर्च गर्दै छ ।
नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनको क्षमता सकिएको नयाँ ठाउँको खोजी सुरु भएको हो । नयाँ स्थानमा फोहोर फाल्ने योजनाअनुसार नै करिब दुई दशअगाडि नै यो स्थान तय भएको थियो । सरकारले गत मंसिर तेस्रो साता काठमाडौंको फोहोर फाल्न आवश्यक थप पूर्वाधार बन्चरेडाँडामा बनाइने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको थियो । नयाँ पूर्वाधार बनेपछि बन्चरे डाँडामा काठमाडौंबाट उत्पन्न हुने फोहोर सबै व्यवस्थापन गरे २० र कुहिने र नकुहिने फोेहोर प्रशोधन भएमा ५० वर्षलाई पुग्ने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ईन्जिनियर मणिराम गेललाले बताए ।
उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोटकोे सिसडोल भरिएर केही समयअघिदेखि समस्या आइकेको छ । त्यहाँ विभिन्न पाँच ठाँउ फोहोरको थुप्रो भइसकेको छ । हाल काठमाडौं उपत्यकाबाट निस्कने फोहोरलाई सिसडोल ल्यान्डफिल्ड साइडमा व्यवस्थापन गर्ने गरिएको छ । दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न लिइएको उक्त साइडमा १४ वर्षसम्म काठमाडौंको फोहोर व्यवस्थापन गरिएको छ ।
अहिले बनाउने प्रक्रिया अगाडि बढेको बन्चरेडाँडा सिसडोल पनि २४ वर्ष अगाडि घोषणा भएको पूर्वाधार हो । यहाँ फोहोर फाल्ने र दीर्घकालीन स्यानेटरी ल्यान्डफिलसाइट बनाउने निर्णय २०५१ मै भएको थियो । बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष २०५८÷५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । सहरी विकास मन्त्रालयले भने जम्मा एक अर्ब ६५ करोडमा यसको काम अगाडि बढाएको छ ।
संघीय सरकारले फोहोर व्यवस्थापनका लागि सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको बन्चरेडाँडोलाई फोहोर व्यवस्थापनको दीर्घकालीन ल्यान्डफिल्ड बनाउने योजना ल्याएपछि त्यसको पहुँचमार्ग निर्माण गर्न सरकारले चैतमा करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ ।
चैत्र महिनामा सरकारले बजेट निकासा गरेसँगै अहिले सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो निर्माण गर्ने काम भइरहेको छ । शिलान्यास कार्यक्रममा धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले स्थानीय बासीको माग पुरा हुनुपर्ने बताए ।
२०७६ बैशाख १२ गते प्रकाशित