

६ बैशाख, धादिङ –
आर्सनल र चेल्सी यूईएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्सनलले नापोलीलाई हरायो भने चेल्सीले साल्भिया प्रागलाई पाखा लगाउदै अन्तिम चारमा स्थान बनाए ।
पहिलो लेगमा दुई शून्यको जित निकालेको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा एक गोल थप्दै समग्रमा तीन शून्यको जित निकाल्यो । आर्सनलको जितमा एलेजान्द्रे लाकाजेटीले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए ।
करिब २५ यार्ड टाढाबाट गरेको प्रहार साझै गोलमा परिणत हुँदा नापोलीका गोलकिपरले भेउ पाउन सकेनन् । अब सेमिफाइनलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियासँग खेल्नेछ । जुन मे २ तारिखमा हुनेछ ।
युरोपा लिग अन्तर्गत नै क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीले साल्भिया प्रागलाई चार तीन गोल अन्तरले हरायो । जसका कारण चेल्सीले समग्रमा पाँच तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनायो ।
पहिलो लेगमा एक शून्यको झिनो अग्रता बनाएको चेल्सीविरुद्ध दोस्रो लेगमा प्रागले निकै प्रतिस्पर्धात्मक खेलेको थियो । खेलको पाँचौ मिनेटमा पेद्रोको गोल मार्फत चेल्सीले अग्रता बनाएको थियो । त्यसपछि नवौँ मिनेटमा डेलीले आत्मघाती गोल गरेपछि चेल्सी दुई शून्यले अगाडि रह्यो ।
त्यसपछि १७ औं मिनेटमा जिरुडले चेल्सीको अन्तर तीन शून्यमा पुर्याए । तर २५ औं मिनेटमा सुसेकले गोल गर्दै प्रागको अन्तर कम गरेका थिए । त्यसको दुई मिनेटमा चेल्सीले फेरि गोल गर्यो । यसपटक पनि उसका लागि पेद्रोले नै गोल गर्न सफल भए ।
दोस्रो हाफमा प्राग खेलमा फर्कने संकेत गरेको थियो, जसमा उसका लागि भेसिकले दुई गोल गर्दै अन्तर चार तीनमा पुर्याए । तर त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र चेल्सीले सेमिफाइनलमा स्थान बनायो । अब सेमिफाइनलमा चेल्सीले फ्रान्कफर्टसँग खेल्नेछ ।
२०७६ बैशाख ६ गते प्रकाशित