४ बैशाख, धादिङ –
मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्ने भएको छ । सहकार्यका लागि मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेकोमा कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापनगर्न आवश्यक देखिएकोले कम्पनीसंग सहकार्य गरिएको बैकले जानकारी दिएको छ ।
मुक्तिनाथ कृषि कम्पनी कृषिलाई मुख्य पेशाको रुपमा अंगालेका कृषकहरुलाई प्रत्यक्ष तथा कृषि सहकारीहरु मार्फत पनि गैर वित्तीय सेवाहरु जस्तैः बीउ विजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारिकरण समेतका सेवाहरु प्रदान गर्ने उद्देश्य सहित रु. ४० करोड जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी रहेको बैकले जनाएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम÷व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्ने बताइएको छ ।
किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हाल भोगेका कृषि उपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै लैजाने जानकारी दिएको छ ।
२०७६ बैशाख ४ गते प्रकाशित