Tue. Mar 4th, 2025

त्रिपालमा पढाउने तयारी

IMG_0218

धादिङ – भूकम्पले विद्यालय ध्वस्त भएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले जिल्ला शिक्षा कार्यालयले त्रिपालमुनि भए पनि विद्यालय सुरु गर्ने जनाएको छ ।

जिल्लाका अधिकांश विद्यालय भवन भत्केका छन् । जिल्लाका ५ सय ८७ विद्यालयका पाँच हजार ३ सय ७३ कक्षा कोठामध्ये दुई हजार ७ सय ४६ कक्षाकोठामा अध्ययनअध्यापन गर्न नै नमिल्ने अवस्था रहेको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले बताए ।

दुई हजार १७ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् भने ७ सय २९ कक्षाकोठा लडेका कारण पठनपाठन गर्न नसकिने अवस्थामा छन् । जिल्लाका एक हजार १ सय ५० कक्षाकोठामा आंशिक रुपमा क्षति भएको छ ।

धेरै कक्षाकोठा ध्वस्त भएकाले कोठामा बसेर पढ्न सकिने अवस्था नभएकाले त्रिपाल, पाल वा अन्य व्यवस्था गरी विद्यालय खुलाएर जनजीवन सामान्य बनाउँदै बालबालिकालाई सामान्य जीवनमा ल्याउन विद्यालय खोल्न लागिएको ढकालले बताए । यसैगरी जिल्लाका विद्यालयमा रहेकामध्ये २२७ खानेपानी योजना ध्वस्त भएको तथा २ सय ७२ शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ । जिल्लामा कार्यरत छ शिक्षकको मृत्यु भएको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गरी जिल्लाका २९ स्वास्थ्य संस्था पूर्ण रुपमा ध्वस्त भएको तथा १७ स्वास्थ्य केन्द्र आंशिक रुपमा क्षति भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जीवनकुमार मल्लले बताए । पूर्ण ध्वस्त भएका स्वास्थ्य संस्थाबाट समेत चौरमा बसेर विनाशकारी भूकम्पमा बिरामीको उपचार सेवा पुर्‍याइएकाले अब वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।

जिल्लाका ६७ प्रतिशत घर पूर्ण रुपमा क्षति भएको र थप २० प्रतिशत घर आंशिक रुपमा क्षति पुगेकाले यी घरमा बस्न नहुने अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा आएर उपचार गराउने बिरामीको सङ्ख्या तीन हजार ९ सय ५ छ । रासस

About The Author

अन्य समाचारहरु: