काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले भूकम्पका कारण क्षति भएका घर बनाउने जिम्मा सरकारले लिनुपर्ने प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सभासभवनमा बिहिबार बसेको बैठकले पूर्णरुपमा ध्वस्त भएका र बस्ने लाएक नरहेका परिवारहरुको घर–वास निर्माण गर्ने जिम्मेवारी सरकारले लिनुर्ने र त्यसका लागि लाग्ने न्यूनतम आर्थिक दायीत्व सरकारले नै बहनगर्नु पर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै बैठकले भूकम्पमा परि निधन हुनेका परिवारहरुलाई रु। २ लाखका दरले र घर पूर्णरुपमा ध्वस्तभएका परिवारहरुलाई रु। १ लाख दरले अविलम्ब राहत रकम उपलब्ध गराउन नेपाल सरकारसंग माग गरेको छ । मृतकका परिवारका सदस्यलाई रोजगारीका लागि प्राथमिकता दिन पनि उसले माग गरेको छ ।
यस्तै भूकम्पका कारणले विस्थापित एवं गंभीर रुपले प्रभावितहरुका लागि पाल, जस्तापाता, खाद्यान्न, औषधी, लत्ता–कपडा, खानेपानीलगायतका राहत सामाग्री अविलम्ब उपलब्ध गराउन नेपाल सरकारसंग माग गरेको छ । क्षतिग्रस्त भएका शिक्षण संस्था, स्वास्थ्य संस्था, सरकारी तथा अर्धसरकारी एवं सामुदायीक संस्थाका भवन तथा कार्यालयहरु पुनर्निमाण गर्ने जिम्मेवारी बहन गर्न नेपाल सरकार संग माग गरिएको छ ।
ध्वस्त एवं क्षति भएका चाँगुनारायण, धरहरा, वसन्तपुर दरवार, काष्ठमण्डप लगायतकाविश्व सम्पदा सूचीमा सूचीकृत, ऐतिहासिक, पुरातात्वीक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पुनर्निमाणको जिम्मेवारी बहनगर्न नेपाल सरकारसंग माग गरेको छ ।