शंकर श्रेष्ठ
२२ बैशाख, धादिङ – महाभुकम्पको बेला घरगोठले च्यापिएर मरेका पशु चौपाया कुहिएर दुर्घन्ध फैलिन थालेसंगै दुर्गम गाउँका मानिसहरु विरामी पर्न थालेका छन् । दक्षिणी धादिङको किरान्चोक गाउँ विकास समिति वडा नम्बर ५ भीरखर्क र पिडा गाउँ विकास समितिको पोखरी गाउँका मानिसहरुमा झाडापखाला लाग्न सुरु भएको छ ।
दुर्गन्धले गर्दा बालबालिकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्न थालेको भीरखर्कका दर्ज बहादुर तामाङले टेलिफोन मार्फत जानकारी दिनुभयो । भुकम्प आएको बेला गोठले च्यापिएर मरेका गाई, भैसी, बाख्रा लगाएतका सिनोहरुको व्यवस्थापन गर्न नसक्दा गाउँमा दुर्गन्ध फैलिएको उहाँले जानकारी दिनुभयो । गाउँमा अहिले १५ जना भन्दा धेरै विरामी परेका छन् । झाडापखालाले ग्रत रहेका विक्रम तामाङ र कान्छा तामाङको मकवानपुरको डाँडाबास स्थित एक नीजि स्वास्थ्य सस्था पु¥याइएको छ ।
सबै घरहरु ध्वस्त भएर अन्नपात पनि पुरिएकाले गाउँका मानिसहरु साग, टाँकीको मुन्टा खाएर बसिरहेका छन् । स्थानीय प्रशासनले जिल्लाको सबै स्थानहरुमा पहिलो चरणको राहत पु¥याइएको भनेपनि अहिलेसम्म भीरखर्कमा राहत पुगेको छैन । खुल्ला आकाशमुनी खाली पेट बस्नुपर्दा चिसोका कारण मानिसहरुमा निमोनिया देखा पर्न थालेको छ । किराञ्चोक उपस्वास्थ्य चौकीका इन्चार्ज एकराज तिवारीले गाउँका केही मानिसहरुलाई ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिन थालेको भएपनि ठूलो समस्या भने नरहेको बताउनुभयो । भीरखर्क गाउँ पुग्न पृथ्वी राजमार्गको गजुरीबाट करिब ५ घण्टा पैदल हिड्नु पर्छ भने उपस्वास्थ्य चौकीबाट भीरखर्क पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ ।
विरामी पर्न थालेको अन्य गाउँहरुमा भने स्वास्थ्यकर्मीहरुको टोलीले उपचार पनि गरिरहेको छ । पिडा गाविसको पोखरीमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएको २ जना डाक्टरहरु सहितको टोलीले शनिबार नै उपचार सुरु गरेको छ । शनिबार पोखरीका २० जना विरामीको उपचार गरिएको उपचारमा संलग्न डाक्टर अनन्त अर्यालले बताउनुभयो । डाक्टर अर्यालका अनुसार पिडाको पिपलटारमा एक सय जना र राम्चेमा २ सय जनाको उपचार गरिएको छ ।
उत्तरी धादिङको सेमजोङ गाविस स्थित चौतारा गाउँमा पनि झाडापखाला सुरु भएको छ । चौतारामा पनि स्वास्थ्यकर्मीहरु पुग्न सकेको छैन ।