२ फागुन, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।
नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उहाँले औँल्याए। उहाँका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उनले भने “भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।”
अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । उहाँले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए।
प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उहाँले जानकारी दिए। भारतसँग ‘कनेक्टिभिटी’ ९सम्पर्क सञ्जाल० मा नयाँ आयाम थपिएको उहाँले औँल्याए। अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिँदैछौँ उनले भने ।”
२०७५ फागुन २ गते प्रकाशित