Fri. Nov 29th, 2024

नेविसंघ धादिङको अध्यक्षको जिम्मेवारी तीनजनालाई


२९ माघ, धादिङ –

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङमा विवाद चुलिएको छ । केन्द्रबाट तीन जना अध्यक्षहरुलाई जिम्मेवारी दिएको पत्र आएसँगै विवादले उग्र रुप लिएको छ । सोमबार मात्रै नेपाली काँग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजिनामा दिएका थिए । राजिनामा दिएसँगै जिल्लामा पनि आफू निकटका विद्यार्थी नेताहरुलाई अध्यक्षको जिम्मेवारी तोकिएको पत्र बाहिर आउन थालेका हुन् ।

गत माघ ७ र ८ गते धादिङबेसीमा भएको १४ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएर अधिवेशन नै नभई स्थगित भएको थियो । आफु निकटको मान्छे चयन नहुने अवस्था सिर्जना भएपछि जिल्ला नेतृत्वले अधिवेशन स्थगित गराएको भन्दै नेविसंघका कार्यकर्ताहरु रुष्ट बनेका थिए । नयाँ अध्यक्ष बन्नको लागि निर्वाचन प्रक्रिया सुरु भएपछि भीम भट्ट, सुवास विसुराल, श्रीराम खतिवडा, डेभिड घले र राजन दनैले उम्मेद्वारी दर्ता गराएका थिए ।

अध्यक्ष नैनसिंह महरले हस्ताक्षर गरेको पत्रमा माघ १९ गते सुवास विसुराललाई अध्यक्षको जिम्मेवारी दिएको भनेर तोकिएको पत्र सोमबार सार्वजनिक भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधि एवं नेविसंघका केन्द्रिय सदस्य लक्ष्मणदत्त पन्थीले अध्यक्षका उम्मेद्वार भीम भट्टलाई गत माघ ९ गते नै अध्यक्षको जिम्मेवारी दिएको पत्र सोमबार नै सार्वजनिक भएको छ । त्यस्तै मंगलवार अध्यक्षका अर्का प्रत्यासी श्रीराम खतिवडालाई ३ नम्वर प्रदेशका संयोजक एवं नेविसंघका केन्द्रिय उपाध्यक्ष राम प्रसाद अधिकारीले जिल्ला अध्यक्षमा चयन गरेको पत्र दिएपछि नेविसंघ जिल्ला अध्यक्षको सङख्या तीनजना पुगेको छ ।

दुई नगरपालिका सहित १३ वटा स्थानीय तहबाट जिल्ला अधिवेशनमा मतदानको लागि भनेर ४ सय ६१ जना प्रतिनिधिहरु धादिङबेसी आएका थिए । चुनाव हुने आशामा तेस्रो दिनसम्म धादिङबेसीमा बसेपनि माघ ९ गते अधिवेशन स्थगित भएपछि त्यतिकै फर्किएका थिए ।

२०७५ माघ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: