१४ माघ, काठमाडौं
अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघ रिले अनसनमा बस्न लागेको हो ।
नेपाल चिकित्सिक संघका अध्यक्ष मुक्ति श्रेष्ठले केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेपछि रिले अनसन बस्न लागेको बताए । संघका अनुसार, अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने जानकारी श्रेष्ठले दिए । देशभर करिब ८ हजार संघ सम्बद्ध चिकित्सिक रहेको संघको दाबी छ ।
धर्ना दिए पनि ओपीडी सेवा भने प्रभावित नहुने संघले जनाएको छ । रिले अनसनमा आलोपालो बसेरै भए पनि सेवा सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए । तर, २ दिनपछि पनि माग सम्बोधन गर्न सरकारले जाँगर नचलाए कडा कदम चाल्ने चेतावनी श्रेष्ठले दिए ।
२०७५ माघ १४ गते प्रकाशित