

३० पुस, धादिङ–
नेपाल थाइल्याण्डमा जारी महिला टी–२० स्म्याशको सेमिफाइनलमा प्रवेश गरेको छ ।यूएईलाई ६ विकेटले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । राम्रो सुरुवात गरेको यूएईले ३५ रन बनाउँदा पहिलो विकेट गुमायो । ओपनर इशा ओजा २८ रनमा आउट भइन् । त्यसपछि सुभा बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किँदा नेपालले दोस्रो विकेट लियो ।
यूएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन् । बलियो ब्याटिङ गरेको यूएईले ९१ रन बनाउँदा चौथो विकेट खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन् । त्यसपछि ९५ रन बनाउँदा नेपालले यूएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन् ।
यस्तै रुबिना क्षेत्रीले हुमीरा तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । यूएईका लागि चामानी सिनीभिरत्नेले अविजित २३ रन बनाइन् । बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक–एक विकेट लिइन् ।
जवाफमा नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्न सफल भयो । तर सिता रानामगर ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि डोली भट्ट मात्र सात रनमा पेभेलियन फर्किँदा नेपालको स्कोरबोर्डमा ७० रन थियो ।
काजल श्रेष्ठ पनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मा पनि १३ रनमा एलबीडब्लू धरापमा पर्दा नेपालले ८८ रनमा चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि रुबिना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाइन् ।
२०७५ पुस ३० गते प्रकाशित