Thu. Nov 28th, 2024

धुनीबेसीको मछिन्द्र बहुमुखी क्याम्पसलाई ५ रोपनी जग्गा निशुल्क प्रदान

२९ पुस, धादिङ –

धादिङको धुनीवेशी नगरपालिका – ७ खानीखोलाका मुरारी गिरिले सामुदायिक क्याम्पसको भवन निर्माण लागि ५ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । अहिलेको बजार मुल्य अनुसार करिव ५० लाख रुपैया पर्ने जग्गा धुनीवेशी नगरपालिकाकै एकमात्र क्याम्पस ‘मछिन्द्र बहुमुखी क्याम्पस’ बनाउनको लागि गिरिले निशुल्क पास गरि दिएका हुन् ।

आफ्नै भवन अभावमा माद्यमिक विद्यालयको भवनबाट क्याम्पस चलिरहेको छ । स्थानीय स्तरमा नै स्नातक तहसम्मको अध्यापन गराउन ठुलै संघर्ष गरिरहेको मछिन्द्र बहुमुखी क्याम्पसले केही वर्षअघि भवन बनाउन महायज्ञ समेत लगाएको थियो । महायज्ञमा दान दिन्छु भनेर कवोल गरेकाहरुले समेत दानसहयोग नगरिरहेका बेला मुरारी गिरिले भने ५ रोपनी जग्गाको लालपुर्जा क्याम्पस संचालक समितिलाइ हस्तान्तरण गरेका छन् ।

आफु जन्मी हुर्केको ठाउँका छोराछोरीहरु घरबाटै क्याम्पस पढ्न जाउन् भन्ने मनशायले क्याम्पसको लागि निशुल्क जग्गा दान दिएको गिरिले बताए । ‘मैले २ कक्षा भन्दा बढी पढ्न पाइन ।’ गिरिले भने, ‘यो ठाउँका युवाहरु उच्च शिक्षा अध्ययनको लागि अन्यत्र जानु नपरोस, घरबाटै हिडेर सस्तो सर्वसुलभ रुपमा शिक्षा लिन सकुन भन्ने मनमा लागेर जग्गा दिएको हुँ ।’ अहिलेको जमानामा शिक्षा नै ठुलो कुरा रहेकाले भावी पुस्ताले आफुले जस्तो अशिक्षित भएर समस्यामा नपरुन भन्ने लागेर क्याम्पसको लागि जग्गा दान दिएको गिरिले बताए ।

क्याम्पसलाइ दिगो रुपमा संचालन र ब्यवस्थापन गर्नको लागि मास्टर प्लान समेत बनाएर अघि बढेपनि भवनको अभावले धेरै समस्या झेल्नुपरेको अवस्थामा अव छिट्टै नयाँ भवन निर्माण लागि पहल थाल्ने मछिन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सीताराम कोइरालाले बताए । ‘हामीलाइ भवन निर्माण गर्न सहयोग गर्नुप¥यो भनेर धेरै ठाउँमा सहयोग माग्न गइयो ।’ कोइरालाले भने, ‘जहाँ गएपनि आफ्नै जग्गा नभएकाले रित्तै फर्कनुपरेको अवस्था थियो ।’ अव क्याम्पसको आफ्नै नाममा लालपुर्जा नै बनेकाले भवन निर्माणको लागि पहल थालिहाल्ने सहायक क्याम्पस प्रमुख कोइरालाले बताए ।

२०७५ पुस २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: