२४ पुस, धादिङ –
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० मा रहेको रोबाङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, जुत्ता तथा झोला प्रदान गरिएको छ । कठ्याग्रिदो जाँडोमा पातलो लुगा र खाली खुट्टा विद्यालय धाउने गरेपछि सहयोग प्रदान गरिएको हो ।
डा. सुन्दरमणि दिक्षितले चप्पल तथा न्यानो कपडाका लागि रु दुई लाख रुपैया सहयोग प्रदान गरेका छन् । काठमाडौँ बालाजुका अनिल महर्जन, ज्ञानेश्वरका निमेश सिंह, मच्छेगाउँ चन्द्रागिरीका गोपाल महर्जन र राजेन्द्र डंगोल लगायतको संयुक्त टोलीले ट्याक सेट र जुत्ता मजा वितरण गरेका छन् । आफ्नै व्यक्तिगत प्रयासबाट विद्यालयमा नै पुगेर विद्यार्थी तथा शिक्षक शिक्षिकालाई कपडा प्रदान गरेको हो । त्यस्तै एक्सन नेपालले सबै विद्यार्थीहरुलाई किताब, कापी बोक्ने झोला वितरण गरेको छ ।
खाली खुट्टाकै भरमा विद्यालय आएकी रिताले सोमबार घर फर्कदा खुट्टामा जुत्ता, शरीरमा न्यानो कपडा र किताब राख्ने झोला पाउदा मख्ख परिन् । उनलाई जीवनकै ठूलो खुसी मिल्यो । छेउमै रहेका उनका आमाको मुहारमा पनि खुसी झल्किएको थियो । न्यानो कपडा पाउने भएपछि छोरी पढ्ने विद्यालयमा बिहानदेखि नै आएकी उनले बताइन् । ‘नयाँ लुगा पाउने आशमा बिहानैदेखि कुरेर बसेका हौँ’, चेपाङले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म खाली खुट्टामै दिन काटिररहेकी छु, छोरीले जुत्ता लगाउन पाउदाँ खुसी भएकी छु ।’
नयाँ कपडामा १० वर्षीय कमला चेपाङ चिटिक्क परेकी थिइन् । खाली खुट्टा र च्यातिएको टिसर्ट र सुरुवालमा विद्यालय धाउने गरेकी कमला खुट्टामा जुत्ता र मोजा, ट्रयाक सेट अनि शरीरमा झोला बोक्न पाउँदा खुसीले रमाएकी थिइन् । रोबाङमा अध्ययन।त एक सय सात जना चेपाङ बालबालिकाहरुले एक आपसमा खुसी साटेका थिए । सन्तानले नयाँ लुगा पाएपछि विद्यार्थीका अभिभावकको खुसीको सीमा थिएन ।
भिरालो जमिन, डाडाँपाखा, न विजुली न खानेपानीको सुविधा । बारीमा लगाएको अन्नले मुस्किलले चार महिना कट्छ, बाँकी महिना जंगली कन्दमुलको जोहो गर्नुपर्छ । भएका सानो घरमा पनि ८/९ जनाको परिवार अटाउनुपर्छ । न सरसफाई न स्वास्थ्य उपचार न विद्यालय नै । रोबाङमा पाँच कक्षासम्म पढाई हुन्छ । बाँकी पढाई पूरा गर्न छ घण्टा हिडेर अन्यन्त्र जानुपर्ने बाँध्यता छ । सानै उमेरमा बिहे गर्ने अनि बच्चा धेरै पाउने चेपाङ समुदायको पुस्तौदेखिको चलन जस्तै भएको छ ।
आर्थिक अभाव तथा विपन्नताकै कारण विद्यालय नजाने समस्या व्याप्त छ । बिहान बेलुका छाक टार्न समस्यामा रहेका चेपाङ समुदायका लागि कपडा, जुत्ता चप्पल लगाउन चाड पर्व नै कुर्नुपर्ने बाध्यता छ । बेनिघाट रोराङको रोबाङ, कोस्राङ र गोइराङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु खाली खुट्टा नै विद्यालय आउने गरेका छन् । विभिन्न संघसंस्थाले गर्ने सहयोग यतायातको पहुँच नजिक मात्र भएका कारण पुग्नु पर्ने स्थानमा पुग्न नसकेको स्थानीयहरुको भनाई छ ।
२०७५ पुस २४ गते प्रकाशित