शंकर श्रेष्ठ, बैशाख १७, धादिङ :
हजारौ मानिस हताहत हुने गरी आएको महाभुकम्प पछि धादिङमा सन्चालित निजि अस्पतालहरुले सेवा नै बन्द गरि चिकित्सकहरु बेखवर भएका छन् ।
जिल्ला सदरमुकाममा संचालनमा रहेका दुई ओटा नीजि अस्पतालले सेवा दिन बन्द गरेका हुन । निजि स्तरमा सञ्चालनमा रहेका सहिद मेमोरियल अस्पताल धादिङ र शुभलाभ पोलिक्लिनिकले सेवा बन्द गरेका हुन् । शुभलाभ पोलिक्लिनिकमा एक जनामात्र चिकित्सक रहेको र उनले बुधवार दिनभर उपचार गरेर आफ्नो घर पनि भत्किएको भन्दै घर गएपछि उपचारका लागि आउने विरामीहरु फर्कन बाध्य भएका हुन् ।
भूकम्पले गर्दा अस्पतालमा विरामीको चाप बढेको र पोलिक्लिनिकमा स्वास्थ्यकर्मी समेत नभएपछि सेवा बन्द गरिएको थियो । यसैगरि सहिद मेमोरियल अस्पतालले पनि सेवा बन्द गरेको छ । केही विरामी अस्पतालमा आएपनि उनिहरुलाई डिस्चार्ज गरि अस्पतालले सेवा बन्द गरेको कर्मचारीले बताएका छन् । निजि अस्पतालका स्वास्थ्यकर्मीहरु समेत विदामा बसेकोले अस्पताल बन्द भएको बुझिएको छ ।
शुभलाभ पोलिक्लिनिक र सहिद मेमोरियल अस्पतालको भवनहरु सामान्य रुपमा भुकम्पबाट क्षति पुगेको देखिएको छ । भुकम्पबाट क्षति पुगेर अस्पताल बन्द गरिएको भएपनि फार्मेसी भने संचालनमा रहेको र सामान्य घाइतेहरुलाइ फार्मेसीबाटै उपचार गरेर पठाइएको फार्मेसी संचालकले बताएका छन ।
सरकारले संकटग्रस्त जिल्ला घोषणा गरि सबैलाई सहयोग गर्न आग्रह गरिररहेको बेला निजि अस्पतालले सेवाबन्द गरेपछि जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । निजि अस्पतालमा बन्द गरेको भएपनि त्यहा कार्यरत स्वास्थ्य कर्मीहरु जिल्ला अस्पतालको सम्र्पकमा नआएको जिल्ला अस्पताल धादिङकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रसिला अमात्यले बताइन । उनले भनिन, ‘अस्पताल बन्द भएको छ छैन त्यो त थाहा छैन, तर उपचारमा सघाउनको लागि भनेर शहिदका कुनैपनि स्वास्थ्यकर्मीहरु जिल्ला अस्पतालको सम्पर्कमा आएका छैनन ।’
जिल्लामा यत्रो विपद पर्दा अस्पताल भत्किए पनि जिल्लामा यत्रो विपत्ती पर्दा त्रिपाल टाँगेर भएपनि उपचार गराउनुपर्नेमा अस्पताल नै बन्द गरेर चिकित्सकहरु बेखवर रहनु दुखद रहेको स्थानियहरुले बताएका छन ।
अस्पतालमा घाइतेहरुको चाप बढेको र उपचारको लागि चिकित्सकको पनि अभाव भएको अमात्यले बताइन । जिल्ला अस्पतालमा घाइतेहरुको चाप बढ्ेपछि राख्ने ठाउको अभाव भएर नजिकै रहेको बालमन्दिर स्कुल र नीलकण्ठ क्याम्पसको भवनमा राखेर विरामीहरुको उपचार भइरहेको छ ।
यसैविच घाइतेहरुको उपचारको लागि सघाउन जिल्ला अस्पताल धादिङमा २२ जना भारतीय स्वास्थ्यकर्मीहरुको टोली आइपुगेको छ । धादिङबाट गम्भीर घाइतेहरुको उपचारको लागि धादिङवाट विरामीहरुलाइ चितवन रिफर गरिएकाले केही विशेषज्ञ स्वास्थ्यकर्मीसहित ३ ओटा एम्बुलेन्स चितवन फर्केको जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ ।
त्यसैगरि आर्ट अफ लिभिङका स्वास्थयकर्मीहरुको टोली, हिमालयन हेल्थ केयरका टोली, धरानस्थित विपि कोइराला मेमोरियल हस्पिटलको टोली जिल्ला स्वास्थ्य कार्यलयको सम्पर्कमा आएको जिल्ला स्वास्थय कार्यलय धादिङका बरिष्ठ जनस्वस्थ्य प्रशासक जीवनकुमार मल्लले बताए । सवै ठाउवाट आएका स्वास्थ्यकर्मीहरुको टोलीलाइ औषधि सहित जिल्लाका विभिन्न गाउ विका समितिहरुमा पठाउने क्रम जारी रहेको मल्लले जानकारी दिए ।