१७ पुस, काठमाडौं
प्रतिनिधिसभा बैठक मंगलबार मध्याह्न १२ बजे शुरु हुँदैछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई ‘स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
सदनमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारी समायोजना अध्यादेश ‘अस्वीकृति गरियोस्’ भन्ने बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्दैैछन् ।
त्यसैगरी, मंगलबारको बैठकमा शिक्षामन्त्री गिरिजामणि पोखरेलले परमाणिक विधेयक, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादि व्यवस्थापन विधेयक गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, कानूनमन्त्री ढकालले प्रशासकीय अदालत विधेयक र मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
२०७५ पुस १७ गते प्रकाशित