Wed. Nov 27th, 2024

धादिङमा राजश्वको अनुगमन ,ब्यापारीहरु पसल बन्द गरेर भागाभाग

????????????????????????????????????

१३ पुस, धादिङ

विहीवार अकस्मात सदरमुकाम धादिङवेशीका पसलहरु बन्द भए । वीच बजार, शान्त बजार अनि पुछारबजार हुँदै ब्यापारिका पसलहरु मध्यान्नमै बन्द भयो । पसलहरु एकाएक बन्द हुने क्रम रोकिएन । बजार ठप्प जस्तै बन्यो । किनमेल गरिरहेका ग्राहकहरुलाइ समेत हतार हतार बाहिर निकालेर पसलहरु बन्द भए । गाउँ गाउँबाट बजारमा किनमेल गर्न झरेका ग्राहकहरु अकस्मात ब्यापारीहरुले पसल बन्द गर्दा अचम्मित भए । कुरो बुझ्दा थाहा भयो आन्तरिक राजश्व कार्यलय कलङ्कीबाट बजार अनुगमन हुँदै रहेछ ।

यो घटना पहिलो पटक भने होइन, जतिपटक राजश्व कार्यलयबाट अनुगमन आउँछ एक दुइ पसलमा अनुगमन गर्ने वित्तिकै बजारका धेरैजसो पसलहरु बन्द हुन पुग्छन् । ब्यापार ब्यवसाय करको दायरामा आएको छ कि छैन भनेर पटक पटक अनुगमन हुने गरेको भएपनि अनुगमनमा आएको कर्मचारी देख्ने वित्तिकै बजार एकाएक बन्द हुने रोग पुरानै हो । विहीवार पनि त्यस्तै देखियो । वीचबजारमा कर कार्यलयबाट आएका कर्मचारीहरुले बजार अनुगमन सुरु गर्दा पुछार बजार र शान्त बजारका धेरैजसो पसलहरु बन्द भए ।

नियमित बजार अनुगमनको शिलशिलामा धादिङ आएको राजश्व कार्यलयबाट खटिएको अनुगमन टोलीले जानकारी दियो । नियमित अनुगमनको क्रममा ब्यवसायीहरुलाइ करको दायराभित्र रहेर ब्यवसाय गर्न उत्पे्ररित गर्ने, करको नियम पालना भएको वा नभएको अनुगमन गर्ने, खरिद विक्री खाताहरु अनुगमन गर्ने जस्ता कामहरु गरिने अनुगमन टोलीले जानकारी दिएको छ । अनुगमन टोलीका एक सदस्यले भने, ‘हाम्रो कार्यलयको क्षेत्राधिकार भित्र धादिङ जिल्ला पनि पर्दछ, नियमित रुपमा गरिने करको अनुगमनको क्रममा हामी यहाँ आएका हौँ । हालसम्म ठुलै रकममा कर छल्न खोज्ने ब्यवसायहरु नभेटिएपनि केही कमजोरीहरु देखिएका छन्, अनुगमनमा भेटिएका कमीकमजोरीहरुको रिपोर्ट हामी कार्यलयमा बुझाउछौँ ।’ बजार अनुगमन हुदै गर्दा बन्द भएका पसलहरुको विवरण संकलन गरि राखिएको र जुनसुकै समयमा पनि छड्के अनुगमन गरिने राजश्व कार्यलयको अनगुमन टोलीले जनाएको छ ।

आफ्नो पसल बन्द गरेका एक ब्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘करको हिसाव किताव राख्न र खरिद विक्री खाता संचालन गर्नै जानिएन, यसका लागि कर्मचारी नै राख्न पनि ब्यवसाय ठुलो छैन । वर्षमा १०\१२ लाखको कारोवार गरिन्छ, कर नै छल्ने नियत त होइन नी हाम्रो पनि, तर अनुगमनमा आएकाहरुले यो भएन र त्यो भएन भनेर अनावश्यक दुःख दिने र जरिवाना गर्ने डरले पसल नै बन्द गरेर हिडेको हुँ ।’

धादिङ उद्योग बाणिज्य संघ, नेपाल चेम्वर अफ कमर्श लगायतका ब्यवासायिक हकहितका लागि खुलेका संघसस्थाहरुले बजारका ब्यापारीहरुलाइ लक्षित गरि कर र करको नियम पालना सम्वन्धी करदाता शिक्षा कार्यक्रमहरु संचालन गरिरहेको पनि छ । तर सानो ब्यवसाय गर्नेहरुले करको सामान्य ज्ञान लिन पनि नचाहने अनि करको आधारभुत नियम पनि पालना गर्न नखोज्ने प्रवित्तिका कारण अनुगमनमा आएका बेला कारवाही खाइने डरले पसलहरु बन्द हुने गरेको धादिङ चेम्वर अफ कमर्शका महासचिव अशोक बस्नेतले बताए । उनले भने, ‘ठुला ब्यापारीहरुलाइ सरकारकै लो भ्याट विलिङ सिस्टमले अप्ठ्यारो बनाएको छ, साना ब्यापारीहरु करको आधारभुत नियम पनि पालना गर्न खोज्दैनन्, फलस्वरुप बेला बेलामा अनगुमन हँुदा बजार नै बन्द जस्तो देखिन्छ ।’

२०७५ पुष  १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: