३ पुस, धादिङ –
धादिङको गजुरी गाउँपालिका –५ मा रहेको पीडामा प्रसुति प्रतिक्षा कक्षको स्थापना गरिएको छ । आमा र बच्चाको सुरक्षा र घरमा हुने सुत्केरी शुन्य बनाउनको लागि प्रतिक्षा घर संचालन गरिएको गजुरी गाउँपालिकाले जनाएको छ । प्रसुति प्रतिक्षा घर बनेपछि गर्भवती महिलालाइै ब्यथा लाग्ने वित्तिकै स्वास्थ्य केन्द्रमा लैजाने सकिने गाउँपालिकाले जनाएको छ ।
गजुरी गाउँपालिका ५ मा रहेको पीडा स्वास्थ्य चौकीको प्राङ्गणमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गाउँ गाउँमा रहेका महिलाहरुले बच्चा जन्माउने बेलामा भोग्ने गरेको दुःख कष्ट र समस्यालार्इ समाधान गराउने पहल स्वरुप प्रसुती प्रतीक्षा घर संचालन गरेको बताए । गजुरी गाउँपालिकाको प्रत्येक वडा वडामा प्रतिक्षा कक्ष स्थापना गरिने पनि उनले बताए । प्रतिक्षा कक्षमा बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खानेबस्ने लगायतको सम्पुर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ ।
गभर्वती महिलाहरुमा जुनसुकै बेला जटिल अवस्था आउने भएकाले गाउँ गाउँमा तत्काल उपचार सम्भव पनि नहुने र आउन जानको लागि समय धेरै खर्च हुँदा ज्यान नै जान सक्ने अवस्थालाइ मध्यनजर गरेर गर्भवती महिला लक्षित सेवा सुरु गरिएको बताएका छन् ।
यस अघि गाउँपालिकाले गजुरी बजारमा प्रसुति प्रतिक्षा कक्ष स्थापना गरेको थियो जसमा ४ शैयाको रहेको छ । गाउँपालिकाले सुत्केरी र गर्भवती महिलाले प्रयोग गरेको एम्वुलेन्स सेवामा कुनैपनि शुल्क लिने गरेको छैन ।
२०७५ पुस ३ गते प्रकाशित