सरिता श्रेष्ठ / २९ मंसिर, धादिङ –
नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले १३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले हाल २ अर्व ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिए । नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था २०७१ असार १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको हो ।
धादिङबेसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४÷०७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्त्ता पुँजी १२ करोड ३ लाख ५६ हजारबाट वृद्धि भई १५ करोड ४ लाख ४५ हजार पुगेको अध्यक्ष आचार्यले बताए ।
वित्तिय संस्थाले चार वर्षमा ३७ वटा जिल्लामा ५० वटा शाखा मार्फत सेवा दिइरहेको छ । धादिङ जिल्लामा भने नीलकण्ठ नगरपालिकाको धादिङबेसी र गोगनपानीमा शाखा रहेको छ । त्यसको लागि संस्थाले ९ अर्ब ८६ करोड ६ लाख कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले जानकारी दिए ।
संस्थाले विपन्न परिवारलाई कुखुरा पालन, तरकारी खेती, वाख्रा पालन, वंगुर पालन, साना व्यावसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आइरहेको छ । शाखा रहेका ठाउँका ४६ हजार भन्दा बढी घरपरिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना संचालन समेत गरिएको छ । साधारण सभाले सञ्चालकमा रविन सिजापती, बरुण श्रेष्ठ, राजिव गिरी र केशवप्रसाद आचार्यलाई संचाललकमा निर्वाचित गरेको छ ।
२०७५ मंसिर २९ गते प्रकाशित