Fri. Mar 14th, 2025

प्रदेश कमिटीबारे नेकपामा विवाद

१९ मंसिर, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा स्थायी कमिटीलाई छल्न खोजिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केही नेताले सोचेको कुरालाई नै पार्टी निर्णय भनेर सार्वजनिक गर्ने पद्दतिले कमिटी प्रणाली समाप्त हुन लागेको टिप्पणी उनीहरुले गरेका छन् ।

मंसिर १२ गतेको सचिवालय बैठकको निर्णय भन्दै महासचिव विष्णु पौडेलले सोमबार सातै प्रदेशका सदस्यहरुको नामावली सार्वजनिक  गरेका थिए । सचिवालयले स्थायी कमिटीमा प्रदेश कमिटी सदस्यहरुको नाम प्रस्ताव गर्ने र स्थायी कमिटीले छलफल गरेर निर्णय गर्नुपर्नेमा सचिवालयलाई नै कार्यकारी बनाउन खोजिएको असन्तुष्ट नेताहरुले बताएका छन् ।

पार्टीको ठूलो दायरामा छलफल बहस निषेध गरेर मूल नेतृत्वले गलत परम्परा बसाएको भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरु आक्रोशित छन् ।स्थायी कमिटी सदस्य बेदुराम भुसालले यस्तो प्रक्रियाले पार्टीको कमिटी प्रणाली समाप्त हुने बताए । उनले केही व्यक्तिले जे चाहृयो, त्यही निर्णय हुने पद्दतिले पार्टीलाई विसर्जनतर्फ लैजाने भएकाले यसबारे समीक्षा हुनुपर्ने टिप्पणी गरे ।

भुसालले प्रदेश कमिटीमा व्यक्ति को परे भन्दा पनि निर्णय कुन प्रक्रियाबाट भयो भन्ने महत्वपूर्ण पक्ष रहेको बताए । अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि कतिपय बरिष्ठ र योग्य व्यक्तिहरुलाई पाखा पारिएको भन्दै यसबारेमा स्थायी कमिटीमा छलफल हुने बताएका छन् ।

तर, स्थायी कमिटी बैठक भने अझैसम्म अनिश्चित भएको छ । विधानअनुसार कम्तिमा ३ महिनामा एकपटक बस्नुपर्ने स्थायी कमिटी बैठक ५ महिनादेखि बसेको छैन । अध्यक्षद्वय ओली र प्रचण्डले आपसमा छलफल गरेर बैठक डाक्ने भनिए पनि अझैसम्म मिति तय भएको छैन । प्रदेश कमिटी बनेपछि अब जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम पनि केन्द्रीय सचिवालयबाटै टुंगो लगाएर मनोनित गरिने संस्थापन पक्षका नेताहरुको भनाइ छ ।

२०७५ मंसिर १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: