१७ मंसिर, काठमाडौं
प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका मधेसी दल संघीय फोरम र राजपा दुवैका केन्द्रीय तहमा समस्या देखिएका छन्। केही समयअघि बसेको फोरमको बैठकमा नेत्री रेणु यादवले राजीनामा दिएपछि स्थगन भएको बैठक सुचारु हुन सकेको छैन। यता ४ मंसिरमा संयोजक फेरिएपछि राजपाले समेत औपचारिक बैठक गर्न सकेको छैन।
संघीय फोरमको मंसिर २ मा सुरु राजनीतिक समिति बैठकमा नेत्री यादवको राजीनामासम्बन्धी विवाद सिर्जना भएपछि ४ गते बस्ने गरी स्थगित गरियो। फोरमका उपमहासचिव प्रकाश अधिकारीले मंसिर २२ मा बस्ने केन्द्रीय समितिले पार्टीका सबै समस्या सल्टाउने दाबी गरे। उनले भने, ‘बाहिर हल्ला भए जस्तो केही समस्या छैन, हामी बैठकको आन्तरिक तयारीमा छौं।’ अधिकारीले नस्वीकारे पनि फोरम स्रोतका अनुसार मंसिर २ को बैठकमा असोज ३ गते कालो दिवस मनाउनेबारे प्रदेश संयोजक नेत्री यादवले जारी गरेको विज्ञप्ति र प्रदेश २ का विभिन्न जिल्लामा संयोजक तोकिएको सन्दर्भमा विरोध भएको थियो।
फोरमका महासचिव रामसहाय यादवले बैठकमै नेत्री यादवको क्रियाकलापमा असन्तुष्टि जनाउँदै राजीनामा मागेका थिए। पछि अध्यक्ष उपेन्द्र यादवले बैठक नै स्थगित गराएपछि तनाव मत्थर भयो। त्यसपछि फोरमको राजनीतिक समितिको बैठक बस्न सकेको छैन। फोरमले आउँदो २२ र २३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। फोरम नेताहरूका अनुसार त्यसअघि कार्यसम्पादन समिति र राजनितिक समितिको बैठक बसी पार्टीका समस्या सल्टाउने प्रयास भइरहेको छ। फोरमले प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ भने संघीय सरकारमा पनि सहभागी छ।
यता ४ मंसिरमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाउँदै राजेन्द्र महतोलाई जिम्मा दिने निर्णय ग¥यो। महतोले संयोजकको जिम्मेवारी पाएकै दिन अध्यक्षमण्डलको बैठक आह्वान गरे। तर बैठक बस्न सकेन। यसबीच उनले तीन पटक बैठक डाके पनि बस्न सकेको छैन। शुक्रबार पूर्वसंयोजक ठाकुरसँग उनको निवास पुगेर छलफल गरेपछि उनी दिउँसो पार्टी कार्यालय आए पनि बैठक बस्न सकेन।
२०७५ मंसिर १७ गते प्रकाशित