Wed. Jan 1st, 2025

अध्यक्ष महेश बस्नेतले राष्ट्रिय सम्मेलन प्रभावित गर्न

काठमाडौं, कात्तिक २७ एमाले भातृ संगठन युवा संघ नेपालमा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटबारे विवाद भएको छ। अध्यक्ष महेश बस्नेतले राष्ट्रिय सम्मेलन प्रभावित गर्न एकलौटी जिम्मेवारी बाँडफाँट गरेको भन्दै महासचिव निरज आचार्यपक्षले असन्तुष्टि जनाएको छ।

एमाले स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यलाई विभिन्न विभागको उप-प्रमुख तथा अञ्चलको सह-संयोजक जिम्मावारी तोकेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आचार्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
आचार्यले आसन्न राष्ट्रिय सम्मेलनलाई प्रभावित पार्ने गरी कुनै परामर्श नगरी एकलौटी रूपमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्। ‘अध्यक्षको निर्णय गर्ने प्रक्रिया र नियत ठिक भएन। संगठनको काममा काठमाडौं बाहिर रहेको बेला एकलौटी निर्णय गरियो,’ आचार्यले नागरिकसँग भने, ‘राष्ट्रिय सम्मेलनको मुखमा विभाग र भूगोलमा जिम्मेवारी दिने कदमको विरोध गरेका हौं।’ संघको कञ्चनपुर भीमदत्त नगरपालिकामा मंसिरका १५ र १६ मा राष्ट्रिय विधान सम्मेलन हुँदैछ। नेतृत्व सम्मेलन पुस २७, २८ र २९ गते हुने भएकोे छ। संघले पहिलोपटक नीतिगत विषय र नेतृत्व छनोटका लागि छुट्टाछुट्टै सम्मेलन गर्न लागेको हो।
उपाध्यक्ष दिलु पन्तले कार्य विभाजनको विषय लामो समयसम्म उठाउँदा पनि सुनुवाइ नभएको बताइन्। ‘सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यलाई लामो समयदेखि जिम्मेवारविहीन अवस्थामा राखियो। त्यस समयमा कुरा उठाउँदा वास्ता गरिएन,’ पन्तले भनिन्, ‘राष्ट्रिय सम्मेलनको मुख केहीलाई जिम्मेवारी दिनुको तुक छैन।’
अर्को उपाध्यक्ष झपट रावलले जिम्मेवारी नदिँदा अन्याय हुने र राष्ट्रिय सम्मेलन सफल बनाउन सक्रिय बनाउन काममा लगाउन जिम्मेवारी नपाएकाहरूलाई जिम्मेवारी दिएको बताए।
‘केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीलाई दिएको जिम्मेवारी अनुसार निर्णय भएको हो। लामो समयसम्म जिम्मेवारी नदिँदा अन्याय हुन्छ भन्नेर जिम्मेवारी तोकिएको हो,’ रावलले भने, ‘कार्यविभाजन प्रक्रिया पूरा गरेर बैठकमा गरिएको निर्णयको विरोध नगर्ने १५ दिनपछि आएर ‘नोट अफ डिसेन्ट’ लेखेर जगत हँसाउने काम भएको छ।’
निर्णय हुँदा कसैले विरोध नगरेको दाबी रावलले गरे। ‘निरजजी पहिलो दिनको बैठकमा उपस्थित हुनुहुन्थ्यो, दोस्रो दिन बाहिर जानु भयो। सत्यनारायण यादव (उपाध्यक्ष) बैठकमा उपस्थित हुनहुन्थ्यो,’ रावलले भने, ‘उनीहरूबाहेक सबैको सहमति छ।’ स्थायी कमिटीमा संघको केन्द्रीय पदाधिकारी सदस्य हुन्छन्।
साउनमा सम्पन्न युवा संघको केन्द्रीय कमिटीको बैठकले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। सम्मेलनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यको संख्या १ सय १ छ।
दुवै केन्द्रीय कमिटी बैठकबीच स्थायी कमिटीले कार्यकारी अधिकार प्रयोग गर्ने बताए। ‘यसअघि पनि विधान संशोधन गर्ने कामसमेत स्थायी कमिटीले गरेको छ,’ रावलले भने,’ स्थायी समितिको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।’

About The Author

अन्य समाचारहरु: