मनिष दुवाडी/७ मंसिर, धादिङवेशी–
लामो समय अघि देखी खानेपानीको अनियमित वितरण तथा खानेपानी समस्या भोग्दै आएका धादिङ सदरमुकाम बासीले अव सहज रुपमा खानेपानी पाउने भएका छन् । नीलकण्ठ नगरपालिकाको वडा नं ३ डाँडागाउँमा ४ लाख लिटर क्षमताको २ वटा रिजरभ्वाएर ट्याङकी संचालनमा आएपछि खानेपानी वितरणमा सहजता आउने भएको हो ।
नीलकण्ठ नगरपालिकाको अनुदान सहयोगमा निर्मित ट्याङकी एक समारोहका वीच नगरप्रमुख भीम प्रसाद ढुङगानाले उद्घाटन गरि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाइ हस्तान्तरण गरेका छन् ।
हाल बनाइएको ट्याङकी नजिकै पहिले साढे ३ लाख लिटर क्षमताको २ वटा ट्याङकी रहेको र अव ४ लाख लिटर थप भएपछि सदरमुकाम बासीलाइ दैनिक ७ लिटर पानी वितरण गर्न सकिने धादिङवेशी खानीपानी तथा सरसफाइ मुल उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
नीलकण्ठ नगरपालिकाको ४७ लाख ४५ हजार १ सय २५ रुपैया अनुदान सहयोगमा खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको हो । गरिवि कन्सट्रक्सन प्रालिले २०७४ पुस १६ गते निर्माण गर्ने जिम्मा लिएर अहिले निर्माण सम्पन्न भए पश्चात हस्तान्तरण गरिएको ठेकेदार राजेन्द्र भण्डारीले जानकारी दिए । नीलकण्ठ नगरपालिकाले मुहानको संरक्षणको लागि समेत थप २ लाख ५५ हजार रुपैया सहयोग गरेको थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धादिङको सहयोगमा ६ किलोमिटर लामो पाइपलाइन विच्छ्याएर उक्त ट्याङकीमा पानी खसालिएको र अव वितरण प्रणालीमा सुधार गरेपछि सवै उपभोक्ताको घर–घरमा पानी पुग्ने उपभोक्ता समितिले जानकारी दिएको छ ।
ट्याङकी उद्घाटन गर्दै नगरप्रमुख ढुङगानाले सदरमुकामबासीलाइ १२ घण्टासम्म नियमित पानी वितरण गर्ने सक्नेगरि रिजर्भ पानीको ब्यवस्था भएकाले अव सदरमुकाम क्षेत्रको सवै ठाउँका वितरण प्रणालीमा समेत सुधार गरिने बताए । खानेपानी वितरण गर्नको लागि सह लगानी कोषले सर्भेको काम सक्काइसकेकोले अव छिट्टै पाइपलाइन विछ्याइने बताए ।
‘हामी निर्वाचित भएर आएपछिको पहिलो बोर्ड बैठकबाट नीलकण्ठ नगरलाइ तिर्खामुक्त नगर बनाउने घोषणा गरेअनूरुप काम गरिरहेका छौँ ।’ नगरप्रमुख ढुङगानाले भने, ‘विकासका कामहरुको सुरुवात गरिसकेका छौँ, चुनावमा घोषणापत्रमा उल्लेख गरिएका ९० प्रतिशत भन्दा बढी काम हामी गरेर देखाउछौँ ।’
कार्यक्रममा बोल्दै ढुङगानाले धादिङवेशी बजार नीलकण्ठ नगरपालिकाको मात्रै नभइ जिल्लाकै सदरमुकाम समेत भएकाले ब्यवस्थित बनाउन सडक बोर्डबाट फुटपाथ निर्माणको लागि सर्भे भइरहेको बताए । त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय मार्फत सदरमुकाम क्षेत्रमा ब्यवस्थित ढल निर्माणको लागि ५० करोड भन्दा बढीको विस्तृत परियोजना प्रतिवेदन तयार भइ टोकन मनीको रुपमा २६ लाख रुपैया विनियोजन समेत भइसकेको ढुङगानाले बताए ।