Thu. Nov 28th, 2024

धादिङका अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीको विरामी वढ्यो

२७ कात्तिक,धादिङ –

केही दिनयता धादिङका अस्पतालहरुमा भाइरल ज्वरो तथा रुघाखोकीको बिरामीको चाप बढेको छ । विशेषत गर्मी मौसम सकिएर चिसो मौसम सुरु हुने समय भएकोले पनि ज्वरोे तथा रुघाखोकीको विरामीहरु वढेका हुन् । अहिले जिल्ला अस्पताल धादिङमा दैनिक १५० देखी २०० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको छ ।

चिसो मौसम सुरु भएको कारण पनि भाइरल ज्वरो तथा रुघाखोकीको बिरामी बढेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।यसैगरी, पानीकै कारण छालासम्बन्धी समस्यासमेत देखापरेको चिकित्सकले बताएका छन् । दैनिक अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् । अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । अस्पतालका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको र वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित बातावरणका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । यस रोगबाट बच्न सन्तुलित भोजन तथा पानी उमालेर मात्र पिउने र गेडागुडी रसहरु खाने साथै वाहिर हिड्दा मास्कको प्रयोग गर्न समेत सल्लाह दिएका छन् ।

गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन जिल्ला स्वास्थ्य कार्यलयले निर्देशन दिएको छ ।
जिल्ला अस्पतालमा मात्रै होइन, धादिङका प्रत्येक गाउँपालिका तथा नगरपालिका भित्र रहेका रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, निजी अस्पताल., क्लिनिक र औषधि पसलहरुमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जिल्ला अस्पाताल धादिङका सुचना अधिकारी कृष्णलाल उप्रतीले वताए ।

२०७५ कात्तिक २७गते प्रकाशित

About The Author

अन्य समाचारहरु: