१९ कात्तिक, धादिङ –
बैदेशिक रोजगारीका क्रममा पूर्ण रुपमा अशक्त र ज्यान गुमाएका अभिभावकका बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको छ । जिल्ला समन्वय समितिमा सोमबार एक कार्यक्रमको आयोजना गरी ७० जना बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको हो ।
बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई धादिङको आयोजना तथा सिड्स धादिङको समन्वयमा छात्रवृति वितरण गरिएको हो ।
बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा समन्वय इकाई धादिङले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ६ लाख २० हजार रकमबाट छात्रवृति वितरण गरिएको हो । कक्षा ८ सम्म पढ्ने ५५ जनालाई ८ हजारका दरले र ९ देखि १२ कक्षा सम्म पढ्ने १५ जनालाई १२ हजारका दरले वितरण गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी ) परियोजनाका कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले जानकारी दिए ।
छात्रवृत्ति सिफारिसका लागि धादिङबाट बैदैशिक रोजगार प्रवद्र्धन बोर्डमा पठाएको विद्यार्थीको फाईल हराएको कारण गत बर्ष नै पाउनुपर्ने ९५ जना मध्ये जम्मा ७० जनालाई मात्र शिक्षा समन्वय इकाई कार्यालय मार्फत छात्रबृत्ति वितरण गरिएको हो ।
२०७५ कात्तिक १९ गते प्रकाशित