नुवाकोट – सार्वजनिक स्थलमा धुम्रपान गरेको भन्दै नुवाकोटमा एक वृद्धलाई एक सय रुपैयाँ जरिवाना तिराएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको परिसरमा धुम्रपान गरिरहेको अवस्थामा तारुका गाँउ विका समितिका दीलबहादुर श्रेष्ठलाई पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराइएको हो । नुवाकोटमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारवाही गर्ने भनिएतापनि कसैलाई पनि गरिएको थिएन ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले सार्वजनिक स्थलमा धुम्रपान गर्न कानूनले प्रतिवन्ध लगाएकाले कारवाही स्वरुप जरिवाना गरिएको बताउनुभयो । २०६८ वैशाख २६ गते सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन पारित गरेपनि अझै प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।