मनिष दुवाडी/ २६ असोज, धादिङ–
आफ्नो जिविकोपार्जन र बालबालिकाहरुको सुनौलो भविष्य खोज्दै धादिङ जिल्लाबाट परदेशीएकाहरुले गृहजिल्लामा नौलो सामाजिक कामको सुरुवात गरेका छन् ।
काम खोज्दै धादिङ जिल्लाबाट दुवइमा रहेका धादिङवासीहरुको सस्था धादिङ समाज युएइले नेपालीको ठुलो चाडपर्वहरु दशै तिहार तथा छठ पर्वको अवसर पारी धादिङ जिल्लाका सवै स्वास्थ्य सस्थाहरुमाा नेबुलाइजर (बाफ लिने मेसिन) मेसिन हस्तान्तरण गरेका छन् ।
जिल्ला अस्पताल लगायत धादिङ जिल्ला भर ५२ वटा स्वास्थ्य चौकीहरु र तिनिहरु मातहत रहेका अरु ४० भन्दा बढी स्वास्थ्य इकाइ र युनिटहरुलाइ एकैसाथ धादिङ समाज युएइले नेबुलाइजर (बाफ लिने उपकरण) निशुल्क प्रदान गरको हो ।
हिमाली जिल्लाको रुपमा रहेको धादिङ जिल्लामा जाडो नजिकिदै गर्दा ग्रामिण क्षेत्रका स्थानीयहरु तथा बालबालिकाहरुलाइ निमोनिया हुँदा बाफ लिने तथा दमका रोगीहरुलाइ अति आवश्यक पर्ने नेबुलाइजर जिल्ला भरिका स्वास्थ्य सस्थाहरुलाइ एकैपटक प्रदान गरिएको धादिङ समाज युएइका अध्यक्ष योगेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘उत्तरी धादिङको विकट क्षेत्रका स्वास्थ्य चौकीहरुमा सामान्य बाफ लिने सेवा समेत नहुँदा दमका रोगीहरुले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था देखेकाले हामीले नेवुलाइजर अभियान सुरु गरेका हाँै । हाम्रो सानो सहयोगले धेरै जनालाइ फाइदा पुग्ने भएकाले जिल्ला भरिनै एकैपटक नेबुलाइजर वितरण गरेका हाैँ ।’
धादिङ जिल्लाबाट रोजगारी खोज्दै दुवइ पुगेका धादिङवासीहरुले खाडीमा पसिना बगाएर कमाएको पैसाबाट गाँस कटाएर सहयोग जुटाइ जिल्लाभरिकै लागि नेवुलाइजर खरिद गरेर निशुल्क प्रदान गरिएको थापाले बताए ।
नेवुलाइजर वितरण अभियानलाइ धादिङ समाज कतारबाट ६० हजार सहयोग भएको र दुवइमा रहेका ५५ जना धादिङवासीले संकलन गरेको रकमबाट कुल २ लाख ८८ हजार रुपैया लागतमा नेवुलाइजर वितरण गरिएको धादिङ समाज यूएइले जानकारी दिएको छ ।
यसअघि जिल्ला अस्पताल बाहेकका ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा नेवुलाइजर मेसिन नभएकाले धादिङ समाज युएइले वितरण गरेको नेवुलाइजर मेसिन निकै नै उपयोगी हुने सिद्धलेक गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए । उनले भने, ‘निमोनिया भएका बालबालिका र दम रोगीका बृद्धबृद्धाहरु वाफ लिनकै लागि जिल्ला अस्पताल धाउनुपर्ने, निजि क्लिनिकमा जानुपर्ने अवस्था थियो । अव गाउँ गाउँमा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ तथा युनिटहरुबाटै बाफ लिनेसक्ने भएका छन् । यसले विशेष गरि गाउँ गाउँमा रहेका दम रोगीका विरामीहरुलाइ धेरै फाइदा पुग्ने भएको छ ।’
कार्यक्रममा नेवुलाइजर मेसिन हस्तान्तरण गर्दै ३ नम्वर प्रदेशका आन्तरिक मामिला मन्त्री एवं धादिङ जिल्लाका प्रदेश सभाषद शालिकराम जम्कटेलले विदेशमा गएर पसिना बगाइ कमाएको पैसा बचाएर स्वास्थ्य सस्थाहरुलाइ गरेको सहयोगले सांकेतिक रुपमा सरकारलाइ गिज्याएको अनुभूती भएको बताए । जन्मभुमीको लागि केही योगदान गर्न सकुँ भन्ने भावनाले उत्पेरित भएर सामाजिक कामको सुरुवात गरेकोप्रति धादिङ समाज युएईलाइ जम्कटेलले उच्च प्रशंसा गरे ।
धादिङ समाज यूएईले आगामी दिनमा उत्तरी धादिङका स्थानीयहरुले सेवा पाउने गरि एम्वुलेन्स संचालन गर्नको लागि सहयोग गर्ने समेत लक्ष्य राखेको छ ।
२०७५ असोज २६ गते प्रकाशित