Mon. Mar 10th, 2025

नेपाल चीनसँग १० विकेटले विजयी


२४ असोज, धादिङ–

 

मलेसियामा जारी ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोटमा नेपालले पाँचौ जित हात पारेको छ ।

कमजोर प्रतिद्वन्दी चीनलाई १० विकेटले हराउदै नेपालले प्रतियोगीतामा अपराजित यात्रा जारी राखेको हो । चीनले दिएको २७ रनको चुनौती नेपालले ११ बलमा बिना क्षती भेट्टायो । बिनोद भण्डारी २४ र प्रदिप ऐरी ४ रनमा अबिजित रहे । मात्र ८ बलको सामना गरेका ऐरीले १ छक्का र ३ चौका प्रहार गरे ।

यसअघि क्वालालाम्पुरस्थित बायोमास ओल क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको चीन, १३ ओभरमा २६ रनमा समेटिएको थियो । ललित राजवंशी, सन्दिप लामिछाने र बसन्त रेग्मीले उत्कृष्ट बलिङ गरेपछि चीन कम स्कोरमा समेटियो । सबैले चीनको ३–३ विकेट लिए । चीनका एक ब्याट्म्यान रनआउट भए । होङ जियाङ योङले बनाएको ११ रन उसको ईनिङसको सर्बाधिक स्कोर रह्यो ।

नेपालबिरुद्ध चीनका ३ ब्याट्सम्यानले मात्र रन जोडेका थिए । उसका ८ खेलाडी शुन्य रनमै पभेलियन फर्किए । प्रतियोगीतामा चीनको यो पाँचौ हार हो । नेपाल भने शत प्रतिशत नतिजा निकाल्दै यसअघि नै एसियाली छनोटमा प्रवेश गरिसकेको छ ।

एसियाली छनोटमा युएई, कुबेत, कतार, नेपाल र सिंगापुर सहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । बाँकी एक टोलीको टुंगो लागिसकेको छैन् । एसियाली छनोटमा शीर्ष २ स्थानमा रहने टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछन् ।

२०७५ असोज २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: