

२३ असोज, धादिङ –
धुनीबेसी नगरपालिकाले नगरक्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, खाद्य होलसेल तथा खुद्रा व्यवसायीहरुसँग छलफल कार्यक्रम गरेको छ ।
नगरपालिका क्षेत्रमा सञ्चालित व्यापारिक फर्म, होटल रेष्टुरेन्ट, खाजाघर लगायतबाट उपलब्ध हुने वस्तु तथा सेवाको खाद्य गुणस्तर, स्वास्थ्यकर खाना, सहुलियत बजार मुल्य सम्बन्धमा नगरका प्रमुख बालकृष्ण आचार्यले छलफल गरेका हुन् ।
कार्यक्रममा व्यवसायीहरुलाई उचित मुल्यमा गुणस्तरीय एवं स्वच्छ, सफा उपभोग्य वस्तुहरु उपलब्ध गराउन, मुल्य सुची राख्न, लेवल, स्टिकर लगाएका सामानहरुको विक्रि वितरण गर्न, सडेगलेका म्याद नाघेका बस्तुहरु विक्रि नगर्न साथै चर्को मुल्य उपभोक्ताहरुबाट असुल नगर्न प्रमुख आचार्यले निर्देशन दिए ।
त्यसैगरी होटल तथा खाजा, खाना घरहरुमा भान्साकोठा र शौचालय सफा गर्न, फोहोरमैलाको उचित व्यवस्थापन गर्न, सेफ्टी ट्यांङकी एवं ढल खोला खोल्सीहरुमा नमिसाउन आग्रह गरे । मासुजन्य, फलफुल र तरकारी जन्य वस्तुहरुको गुणस्तर कायम राख्न, मिसावट र अखाद्य वस्तुहरु विक्रि वितरण नगर्न गरेको आग्रहलाई कानुन र मापदण्ड बमोजिम पालना गर्ने प्रतिवद्धता व्यवसायीहरुबाट गरिएको थियो ।
सो अवसरमा नगरपालिकाले आगामी दिनमा गर्ने बजार अनुगमन, नगरपालिकाले निर्माण गरेको बजार अनुगमन निर्देशिका, उपभोक्ता संरक्षण समिति, अनुगमन टोलीले गर्ने अनुगमन र मापदण्डका बारेमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले जानकारी गराएका थिए ।
२०७५ असोज २३ गते प्रकाशित