१७ असोज,धादिङ –
सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ ।
विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे ।तर, तरकारी बजारको विकृति ज्यूँका त्यूँ छ । अहिले पनि ६ तहका विचौलिया पार नगरी उपभोक्ताको भान्सासम्म तरकारी पुग्दैन ।
गत भदौ १६ गते र असोज १६ गतेको बजार तुलना गर्दा धेरैको मूल्य बढेको पाइयो । कुनै तरकारीको मूल्य ७२ प्रतिशतसम्म वृद्धि भएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भदौ १६ गते गोलभेँडा सानो प्रतिकेजी ५५ रुपैयाँ तोकेको थियो । तर, यही गोलभेडा असोज १६ मा आइपुग्दा ६५ रुपैयाँ पुगेको छ । त्यतिबेला प्रतिकेजी २ सय ५ रुपैयाँ रहेकोे हरियो लसुन अहिले महंगिएर २ सय ९५ रुपैयाँमा उक्लेको छ ।
यस्तै, रातो आलु प्रतिकेजी ५८ रुपैयाँबाट ६८ रुपैयाँ, बोडी ६५ बाट ९५ रुपैयाँ, तितो करेला ५५ बाट ९५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ ५५ पुगेको छ ।तरकारी मात्र नभएर फलफूलको मूल्य पनि बढेको छ । भूइकटहरको मूल्य १०५ रुपैयाँबाट ११५ रुपैयाँ र तरबुजा ५५ रुपैयाँबाट ६५ रुपैयाँ कायम भएको छ ।
अन्य धेरै तरकारीको मूल्य बढेको छ । यद्यपि, गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा केही कमी आएको पाइएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरुको मूल्य स्थिर छ ।दशै नजिकिँदै गर्दा तरकारी तथा फलफूलमा कालोबजारी हुने विगतको तितो अनुभव छ । कडा अनुगमन गरेर मूल्यवृद्धि रोक्ने सरकारी दाबी भने गफमै सिमित छ ।
२०७५ असोज १७ गते प्रकाशित