
१३ असोज, काठमाडौं –
ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।
भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ । भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ । सामाजिक सञ्जालहरुमा शेयर गरिएका भिडिओमा कयौं मानिस चिच्याइरहेका देखिन्छन् । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
२०७५ असोज १३ गते प्रकाशित