११ असोज, धादिङ –
चाडपर्व नजिकिदाँ धादिङबेसी बजारमा अनुगमन थालिएको छ । बजारमा संचालित होटल, खाद्यन्न पसल, मदिरा जन्य पसल, तरकारी पसल लगायतमा अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा इजाजत नलिई व्यवसाय संचालन गरिएको, म्याद नाघेको खाद्यन्न सामग्री बिक्रि वितरण गरिएको, पसलमा मूल्य सूची नराखिएको भेटिएको छ ।
अनुगमनका क्रममा धादिङबेसीमा सञ्चालित एक होटलबाट करिब ४० लिटर घरेलु मदिरा नियन्त्रण गरिएको छ । घरेलु मदिरा सहित होटल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा समय समयमा राजमार्ग तथा बजार क्षेत्रमा अनुगमन गरिदै आइरहेको छ । अनुगमनका क्रममा राजमार्गका होटलहरुमा सरसफाई कम तथा मूल्यसूचि नभएको भेटिएको थियो ।
२०७५ असोज ११ गते प्रकाशित