
१० असोज,काठमाडौं –
पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्। विकास तथा प्रविधि समिति बैठकमा मंगलबार बोल्दै सांसदहरूले कारबाही गर्नुपर्ने ठेकेदारलाई राष्ट्र बैंकको भवन निर्माण गर्न दुई अर्बको ठेक्का दिइएकोमा विरोध गरेका हुन्।
सांसद टोपबहादुर रायमाझीले कालोसूचीमा राख्नुपर्ने निर्माण कम्पनीलाई भवन बनाउन दिएर सरकारले के गर्न खोजेको भनी प्रश्न गरे । अर्का सांसद यज्ञ सुनुवारले पप्पु कन्स्ट्रक्सनका बारेमा समितिले थाहा नपाएको जस्तो गर्न नहुने धारणा राखे । त्यस्तै समितिका अर्का सदस्य दुर्गा पौडेलले पनि पप्पुको बदमासीप्रति प्रश्न गरिन्। ‘पप्पुले ठेक्का लिएर काम नगरेको पक्का हो, फेरि नयाँ ठेक्का किन दिन लागेको ? विकास समितिले छानबिन गरेर निचोड निकाल्नुपर्छ’, पौडेलले भनिन्। उनले विकास निर्माणका काम रोक्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार विकास समितिमा किन भन्ने प्रश्नसमेत गरिन्।
विकास समिति सभापति कल्याणी खड्काले काम नगर्ने ठेकेदारले उन्मुक्ति नपाउने स्पष्ट पारिन् । उनले राम्रोसँग अध्ययन गरेर भरपर्दाे निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिने पनि स्पष्ट पारिन् ।
शैभरिका ठेक्कामा ढिलासुस्ती गरिरहेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहरको काम निकै लाजमर्दो र चरम लापरबाहीपूर्ण तरिकाले गरेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुको लापरबाहीले हद नाघेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको दाताले त्यस्तो सहयोग रोक्ने चेतावनी दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा दातामध्ये साउदी विकास कोष पहिलोपटक सहयोग गर्ने दातृ निकाय हो।
कोषको रकम खर्चेर उक्त आयोजनाअन्तर्गत डुुँडुवा खण्डको शाखा नहर बनाउन २५ महिनाअघि सिँचाइ विभागले पप्पुसँग सम्झौता गरेको थियो । तर, ठेक्का अवधिमा पप्पुले करिब सात प्रतिशत मात्र गर्न सकेपछि दातृ निकायले पप्पुबाट निर्माण सम्पन्न हुन नसक्ने ठहर गर्दै उक्त आयोजनाका लागि दिने भनिएको पूरै रकम रोक्ने चेतावनी सरकारलाई दिइसकेको छ । सिक्टाको निर्माण कार्य सुरु भएदेखि नेपालले विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न मुलुकसँग सहयोग र ऋण जुटाउने प्र्रयास गरे पनि सफल हुन सकेको छैन । विगतमा भारतीय अवरोधका कारण निर्माणकार्य अघि बढ्न नसकेको भनिएको सिक्टा सिँचाइ २०६१ देखि नेपालले आफ्नै लगानीमा बनाउन थालेको हो।
२०७५ असोज १० गते प्रकाशित