८ असोज, धादिङ –
पृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा सोलारबत्ती जडान गरिएको छ । रातीको समयमा चल्ने सवारी साधन तथा स्थानीयलाई सहजता दिलाउन धादिङ जिल्लामा पर्ने राजमार्गमा सोलारबत्ती राखिएको हो ।
राजधानी हुँदै र राजधानी भित्रने सवारी साधनको सुरक्षाको लागि गजुरी, गल्छी, थाक्रे गाउँपालिका तथा धुनीबेसी नगरपालिकामा पर्ने सडकमा बत्ती राखिएको छ । यसबाट साँझ र रातिको समयमा पैदलयात्रीले सुविस्ता पाउने र चोरी, लुटपाटका घटनामा कमी हुने अपेक्षा गरिएको छ ।
जिल्लाको गजुरी गाउँपालिकामा १ सय ४२ वटा सोलारबत्ती राखिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतका अनुसार गाउँपालिकाको मलेखुबजारदेखि बेल्खुसम्म १ सय ४२ वटा सोलारबत्ती राखिएको छ । कुल १ करोड ५ लाखको लागतमा सोलारबत्ती राखिएको बस्नेतले बताए । ‘सडकको सौन्दर्य र दुर्घटना न्यूनिकरण तथा आपराधिक घटना न्यूनिकरणका लागि सोलारबत्ती राखेका छौँ’ बस्नेतले भने, ‘यसले पैलदयात्रु र सवारी साधनलाई सहयोग पुगेको छ ।’
राजमार्ग हुँदै हजारौँ सवारी साधन आवतजावत हुने गर्दछ । बढ्दो लोडसेडिङको मार खेपिरहेको अवस्थामा सडक अन्धकारमय हुन नदिन सोलारबत्ती जडान गरिएको बस्नेतको भनाई छ । ‘लोडसेडिङका बेला हामीले वैकल्पिक व्यवस्था गर्न नसक्दा राजमार्गका सडक र गल्लीहरू अँध्यारा भए,’ बस्नेतले भने, ‘लोडसेडिङको प्रभाव पनि नपर्ने भएकाले सोलारबत्तीलाई प्राथमिकता दिएका हौँ ।’ सडकमा राखिएको सोलारबत्ती अटोमेटिक सेन्सरबाट राति बल्ने र दिउँसो निभाउने व्यवस्था गरिएको छ ।
२०७५ असोज ८ गते प्रकाशित