३ बैशाख, काठमाडौँ – कोरियाली भाषा परीक्षा (ईपीएस) का लागि बिहीबारदेखि आवेदन खुला भएको छ। आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने ईपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।
आवेदन देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म बुझाउन पाइने व्यवस्था गरिएको छ। आवेदन फाराम बुझाउने म्याद वैशाख ६ गतेसम्म तोकिएको छ ।
यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ। गत वर्ष जम्मा सात ठाउँबाट आवेदन दिने व्यवस्था थियो।
ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन पाइन्छ।
यसैगरी धरान नगरपालिकाको धरान सभागृह, जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवलस्थित बुटवल प्रदर्शनी मण्डप, पोखरामा विन्ध्यावासिनी उच्च मावि र डँडेलधुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा फाराम लिने र बुझाउने व्यवस्था ईपीएस कोरिया शाखाले गरेको छ। यीमध्ये पायक पर्ने कुनै पनि ठाउँबाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन्।