
मनिष दुवाडी/२६ भाद्र, धादिङ-
जिल्ला सदरमुकाम धादिङवेशीमा संचालित श्रोत परिचालन बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा मात्रै ५८ लाख रुपैया भन्दा बढी नाफा गर्न सफल भएको छ ।
नीलकण्ठ नगरपालिका र यो संग सीमा जोडिएका आसपासका गाउँपालिकाहरुमा कार्यक्षेत्र रहेको धादिङ जिल्लाकै सफल सहकारीको रुपमा परिचित सहकारीले गत आर्थिक वर्ष २०७४/०७५ मा ५८ लाख ५७ हजार ६ सय १७ रुपैया खुद नाफा कमाउन सफल भएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको नाफा भन्दा १६ लाख २१ हजार ४ सय २६ रुपैयाले बढी हो ।
सहकारीले २०७५ को आषाढ मसान्तसम्ममा १९ करोड १८ लाख ८३ हजार ७ सय ५८ रुपैया ऋण प्रदान गरेको छ भने १९ करोड ८५ लाख ६६ हजार २ सय ४३ रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै २६ लाख १६ हजार ६ सय ४१ रुपैया विभिन्न सहकारी संंघ तथा सहकारी बैङ्कहरुमा लगानी गरेको छ ।
२०५४ सालमा ८ जना युवाहरुको सक्रियतामा २६ जना मिलेर स्थापना गरेको सहकारीमा हाल ३ हजार ८ सय ८३ जना शेयर सदस्यहरु रहेका छन् । जसमा महिला २ हजार १ सय १८ र पुरुष १ हजार ७ सय ६१ जना शेयर सदस्य रहेका छने भने बाल बचत तर्फ १ हजार १ सय १६ जना बालकालिका बचतकर्ता रहेका छन् ।
श्रोत सहकारी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले बनाएको सेवा सुविधा, सामाजिक क्रियाकलाप, आर्थिक सुशासन, पारदर्शिता लगायत ५५ वटा सुचकाङ्कहरु पुरा गरि लगातार ४ वर्षसम्म ‘सफल सहकारी’ ब्राण्ड प्राप्त गर्न सफल समेत भइसकेको छ ।
सहकारीलाइ अन्तराष्ट्रिय रुपमै चिनाउनको लागि एक्सेस ब्राण्ड प्राप्त गर्नु अवको लक्ष्य रहेको अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए ।
स्थापना कालमा ५२ हजार शेयर पुँजी बाट सुरु गरेको श्रोत सहकारीको शेयर रकम नै २ करोड ८० लाख ४६ हजार ६ सय पुगिसकेको छ । चालु आर्थिक वर्षमा शेयर रकम १५ प्रतिशतले बृद्धि गरिने लक्ष्य राखिएको सहकारीकी सचिव कविता थापाले जानकारी दिइन् ।
२१ औ बार्षिक साधरण सभामा दिइएको जानकारी अनुसार सहकारीले खुद नाफाको ४५ प्रतिशत अर्थात १९ लाख ७६ हजार ९ सय ४५ रुपैया शेयर लाभांषको रुपमा बाँडफाड गर्ने छ । खुद नाफाबाटै संरक्षित पुजि कोष, सहकारी शिक्षा कोष र घाटा पुर्ति कोषमा १०/१० प्रतिशत रकम छुट्याइएको छ भने कर्मचारी उपादान कोष, सहकारी विकास कोष र डुवन्ते ऋण कोषमा ५/५ प्रतिशत रकम छुट्याइएको कोषाध्यक्ष रुद बहादुर खत्रीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा जनाइएको छ ।
सहकारीले ब्यापार, कृषि, शैक्षिक हायरपर्चेज, बैदेशिक रोजगार, आवधिक घरखर्च आवास लगायतका क्षेत्रहरुमा ऋण लगानी गर्दै आएको छ । स्थापना कालदेखी २०७५ आषाढ मसान्तसम्म जम्मा ६६ हजार मात्रै खराव कर्जा देखिएको छ ।
साधारण सभाबाट आगामी कार्यकालका लागि पुनः प्रदीप अधिकारीकै अध्यक्षतामा पुरानै कार्यसमितिलाइ निरन्तरता दिइएको छ । पुरानै कार्यसमितिलाइ दोहो¥याएर जिम्मेवारी दिइएपछि ३ महिना देखी नयाँ कार्यसमिति बनाउनको लागि भनेर मागिएको आवेदन के का लागि ? भन्दै केही केही शेयर सदस्यहरुले भने विरोध जनाएका छन् ।
२०७५ भदौ २८ गते प्रकाशित