Thu. Mar 13th, 2025

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

२५ भदौ, काठमाडौं

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्। राज्यका सबै अंगलाई कमजोर बनाएर दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकार संविधानको चिरहरण गर्न लागि परेको आरोप लगाएका हुन्।

पार्टी नेता विश्वेश्वरप्रसाद (बिपी)कोइरालाको १०५ औं जन्मजयन्तीको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेता रामचन्द्र पौडेलले वर्तमान सरकार लोकतन्त्र र नागरिक अधिकारमाथि हस्तक्षेप गर्न सक्रिय रहेको दाबी गरे। अदालत, संवैधानिक निकाय, कर्मचारीतन्त्रमा सरकारले निरन्तर दबाब खडा गरिरहेको आरोप लगाउँदै पौडेलले भने, ‘सत्ता सञ्चालनमा अप्ठेरो परे नागरिक अधिकार खोज्न सरकार पछि पर्दैन।’

लेनीन र माओले स्थापीत गर्न नसकेको साम्यवाद नेपालका कम्युनिस्टले स्थापित गर्नेमा विश्वास नभए पनि उनीहरू विकृति भने ल्याउने पौडेलको बुझाइ छ। ‘यिनीहरूले साम्यवादमै पु-याउँछन् भन्ने त विश्वास छैन,’ पौडेलले भने, ‘त्यसका विकृति बोकेको नयाँ वर्ग खडा गर्न भने सक्छन्।’

सरकारका अलोकतान्त्रिक गतिविधिलाई कांग्रेसले मात्र रोक्नसक्ने जिकिर गर्दै पौडेलले भने, ‘त्यसका लागि कांग्रेसमा पनि सुधार हुनुपर्छ।’

स्थानीय, प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि पनि पार्टीलाई सुधार गर्नेतर्फ ध्यान नपुगेको स्वीकार गर्दै पौडेलले भने, ‘यिनीहरूले गरिखाने छाँट त छैन। तर कम्युनिस्ट असफल हुँदा कांग्रेस सफल हुन्छ भन्ने छैन । अरु नै शक्ति सफल हुनसक्छन्, त्यसैले कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्छ।’

कम्युनिस्टहरू संघीयताको पक्षपाती नभएको सुनाउँदै उपसभापति विमलेन्द्र निधिले ओली नेतृत्व सरकार संघीयतालाई कमजोर बनाउन लागिपरेको दाबी गरे। सरकार नागरिक अधिकार, प्रेस स्वतन्त्रता, न्यायपालिकासहित राज्यका अंगमा हस्तक्षेप गर्न सक्रिय रहेको सुनाउँदै उनले भने, ‘सरकार यंविधानलाई कमजोर बनाउन लागि परेको छ । यसले कुनै पनि क्षेत्रमा सकारात्मक संकेत दिनसकेको छैन।’

नेता प्रदीप गिरीले ओली नेतृत्व सरकारको रवैया अधिनायकवादी रहेको आरोप लगाउँदै कांग्रेसले त्यसविरुद्ध उभिनसक्ने सबै राजनीतिक दल र शक्तिलाई साथ लिएर अघि बढ्नुपर्ने तर्क गरे। ‘सरकारको रवैया अलोकतान्त्रिक छ,’ उनले भने, ‘व्यक्तिगत स्वतन्त्रता र स्वायत्तामाथि सरकार आक्रमण भइरहेको छ। त्यसका विपक्षमा भएकालाई साथ लिएर कांग्रेस अघि बढ्नुपर्छ।’

२०७५ भदौ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: