Thu. Mar 13th, 2025

संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने

२४ भदौ, काठमाडौँ –

भारतको पूणेमा सोमबारदेखि सुरु हुने बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने भएको छ । संयुक्त सैन्य अभ्यासमा भाग लिन लागेका विषयमा सत्तारुढ दल तथा बाहिरबाट समेत सरकारको व्यापक आलोचना भएपछि सरकारले सैन्य अभ्यासमा भाग नलिने निर्णय गरेको हो।

संयुक्त सैन्य अभ्यासमार्फत भारतीय स्वार्थ पूरा गराउन लागेको आरोपसहित प्रधानमन्त्रीको पार्टीभित्रबाटै आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय र सैनिक मुख्यालयलाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएको स्रोत बताउँछ।

भदौ १५ र १५ मा काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य मुलुकका बीचमा संयुक्त सैन्य अभ्यास हुन लागेको विषयमा जानकारी गराएका थिए। मोदीले बिम्स्टेकमा सम्बोधन गर्नुभन्दा पहिले नै भारतीय सञ्चारमाध्यमहरूले भारतको पूणेमा बिमस्टेक मुलुकबीच संयुक्त सैन्य अभ्यास हुने जनाएका थिए। संयुक्त सैन्य अभ्यासलाई भारतीय मिडिया तथा सुरक्षा जानकारहरूले समेत सामरिक महत्व बोकेको बताउँदै यसले छिमेकी चीन र पाकिस्तानलाई चुनौती दिन सहयोग गर्ने बताउँदै आएका थिए।

सैनिक स्रोतका अनुसार सेनालाई औपचारिक जानकारी नआए पनि तालिम रोकिएको विषयमा मौखिक निर्देशन आइसकेको छ। सरकारले तालिममा सहभागी नहुन निर्देशन दिएकै कारण तालिमको सम्पूर्ण तयारी पूरा गरेर पनि नेपाली टोली भारततर्फ नगएको हो। बिमस्टेक सदस्य मुलुकका बीचमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्तावपछि नेपाली सेनाले सैनिक अधिकृतसहितको ३० जनाको टोलीलाई तालिममा सहभागी गराउने गरी आवश्यक तयारी गरिरहेको थियो।

नेपाली सेनाले असोज १ देखि चीनसँग पनि संयुक्त सैन्य अभ्यास गर्दैछ। चीनसँग पहिले नै तय भएको सैन्य अभ्यास सुरु हुनु भन्दा पहिले नै भारतले बिम्सटेक सदस्यबीचमा संयुक्त सैन्य अभ्यासको घोषणा गरेपछि यसले चीनसँगको सम्बन्धमा दरार उत्पन्न हुने अनुमान गरिएको थियो। संयुक्त सैन्य अभ्यास छिमेकी मुलुक चीनलाई चिढाउने माध्यम बन्ने भन्दै विभिन्न राजनीतिक दल तथा रक्षा मामिलाका जानकारहरुले पनि सरकारलाई खबरदारी गर्दै आएका थिए।

भारतका सुरक्षा मामिलाका जानकारहरुले समेत बिम्स्टेकका नाममा संयुक्त सैन्य अभ्यासको आयोजना गरेर भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउन खोजेको बताउँदै आएका छन्।

२०७५ भदौ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: