Thu. Mar 13th, 2025

सम्बन्ध बलियो बनाउनु भारत भ्रमणको उद्देश्यः अध्यक्ष प्रचण्ड


२२ भदौ, काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भने, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।”

हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेका छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ, नेपालको संवेदनशीलता र नेपाली जनताको आवश्यकता तथा व्यापार घाटा समाधान गर्न भारतले पनि बुझ्नुपर्छ, यो नै राम्रो अवसर हो ।”

भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा भारतमा विभिन्न पेशा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदूरी गर्ने नेपाली नागरिकको पक्षमा आफूले गम्भीर ढङ्गले छलफल गरेको उनको भनाइ थियो । पूर्व प्रधानमन्त्री दाहालले बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक तथा गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह गरे ।

कार्यक्रममा प्रवासी नेपालीले नेपाल–भारत सीमामा हुने गरेका घटना रोक्न पहल गर्न अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । उनीहरुले बैंक खाता, मतदाता परिचयपत्र, बीमालगायत समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

२०७५ भदौ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: