Thu. Mar 13th, 2025

प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

१९ भदौ, काठमाडौं–

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहबरमा छाड्न सोमबार आदेश दिएको हो।

सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न यसअघि पनि दुईपटक आदेश दिइसकेको छ । यसअघि दुवैपटक सर्वोच्चको आदेशमा रिहा भएलगत्तै उनलाई फेरि पक्राउ गरिएको थियो । सरकारको यस्तो कार्यलाई सर्वोच्चले ‘अदालतको आदेशलाई असम्मान’ भनी टिप्पणी गरेको छ । ‘सम्मान र कार्यान्वयन गर्नुपर्ने निकायबाट असम्मान गरेको भन्दै गम्भीर सरोकार रहेको छ’, सोमबारको आदेशमा उल्लेख छ।

सुरुमा विश्वकर्मालाई चन्दा असुलीको आरोपमा पक्राउ गरिएको थियो । उनका भाइ वीरेन्द्रले विश्वकर्मालाई थुनामुक्त गर्न माग राखी पहिलोपटक भदौ १ मा सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले विश्वकर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको ठहर गर्दै भदौ ७ मा छाड्न आदेश दिएको थियो । तर मुक्त भएलगत्तै फेरि विश्वकर्मा पक्राउ परेका थिए । त्यस लगत्तै प्रहरीले क्रसर उद्योगमा आगजनी गरेको घटनामा संलग्न भएको भन्दै विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको थियो । त्यसलगत्तै सर्वोच्चमा दोस्रोपटक बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको थियो । सर्वोच्चले दोस्रोपटक पनि गैरकानुनी थुनामा राखेको ठहर गर्दै विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको थियो।

आदेशपछि छुटेका विश्वकर्मालाई लगत्तै पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराइएको थियो । तेस्रोपटक एस्काभेटर मेसिनमा आगो लगाई २ करोड २३ लाखबराबरको आरोपमा उनलाई पक्राउ गरिएको थियो । यसपछि परेको रिटमा सुनुवाइ गर्दै अदालतले सोमबार अर्को आदेश दिएको हो। दुईपटकसम्म थुनामुक्त गर्ने आदेश दिँदादिँंदै त्यसलाई उल्लंघन गरी पुनः पक्राउ गर्नु कानुनविपरीत भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

२०७५ भदौ १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: