१७ भदौ,धादिङ –
‘बिहान ८ बजे खुलेको पसल राति ९ बजेसम्म निरन्तर १३ घण्टा चल्छ । खाजा खाने फुर्सद पनि हुन्न ।’ । धादिङ्ग मलेखु स्थित पृथ्वी राजमार्ग छेवैमा विगत ४ वर्षदेखि मोवाईल मर्मत केन्द्र संचालन गर्दै आएका मोवाईल टेक्निसियन भिम मगरको दैनिकी हो यो । ग्राहकहरु एकपछि अर्को आइ नै रहन्छन, ग्राहकको काम समयमै सकेर पठाउन पनि उनलाइ हम्मे हम्मे पर्छ ।
मोवाइलको मर्मत तथा ब्यापारबाट उनले घरखर्च राम्रोसंग चलाएका छन् । कति कमाइ हुन्छ भन्ने वित्तिकै उनले मुसुक्क हास्दै भने, ‘स्टाफ खर्च, घर भाडा, प्रयोगशाला खर्च कटाएर घर चलाउन सजिलै पुगेको छ ।’
शंखादेवी मा.वि. जोगिमारा धादिङ्गबाट १२ पास गरेका सामान्य परिवारका युवा भिम बहादुरले २०६७ सालमा धादिङ्गको गजुरी स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रबाट मोवाईल मर्मत तालिम सिकेका हुन् । इलेक्ट्रोनिक्स क्षेत्रमा सानैदेखि रुचि र लगाव राख्ने उनी उक्त प्राविधिक तालिमले आफुलाइ आर्यआर्जनको बाटोमा लाग्न प्रेरण मिलेको बताए । आफू बाहेक अरु २ जनालाई समेत रोजगारी दिइरहेका भीम भन्छन्, “म शुरुमा अरुको पसलमा काम गर्ने प्राविधिक थिएँ । अहिले मिस्त्रीबाट मालिक समेत बनेको छु । विदेश जानेले भन्दा राम्रो कमाई आफ्नै घर गाउँमा गर्ने अवसर पाएको छु ।’
धादिङ्ग, नुवाकोट र रसुवा जिल्लाका समेत विभिन्न स्थानमा भिम मगर जस्तै अन्य उद्यमी र स्वरोजगार यूवाहरु पनि भेटिन्छन । प्राय ः ति यूवाहरु सीप विकास तालिम केन्द्रबाट तालिम लिएका पूर्वप्रशिक्षार्थीहरु हुन् । धादिङ्गकै थाक्रे घर भएका सुरज थापा जसले सीप विकासबाटै प्लम्बिङ तालिम लिएर स्थानिय श्रमबजारमा क्रियाशिल छन् । सुरज भन्छन “खाडी देश जानेले पनि महिनामा त्यही ५०÷६० हजार त कमाउने हो नी, त्यती त नेपालमै बनाउँछु म पनि ” । सीप विकास केन्द्र गजुरीका प्लम्बिङ प्रशिक्षक बद्री प्रसाद रुपाखेतीका अनुसार दक्ष प्लम्बरले नेपालमै कम्तीमा ५० हजारदेखी २ लाखसम्म महिनावारी कमाई गर्न सक्छन् । अनुभव र दक्षता बृद्घि गर्दै गएपछि कतीपय त ठेकेदार पनि बनेका छन् ।
एक समय कुखुरा पालन व्यवसायमा डुबेर ऋणग्रस्त भई अन्तिम स्थितिमा आईपुगेका धादिङ्ग आदमघाटका विष्णु खनाल पनि सीप विकासको तालिम लिएपछि तङ्ग्रिएका रहेछन् । प्लम्बिङ मिस्त्रीबाट ठेकेदार बनेका विष्णु हाल अरु ४÷५ जना यूवालाई रोजगारी समेत दिएर मासिक करिब ३५÷४० हजार खुद बचत गर्छन् । श्रम मन्त्रालय अन्तर्गत रहेको सिप विकास तालिम केन्द्रले दिएको तालिम आफ्नो जिवनमा बरदान सावित भएको खनाल बताउँछन् ।
तालिम लिएर आर्यआर्जनमा सक्रिय मात्रै होइन अरुलाइ तालिम दिने प्रशिक्षक समेत बनेका छन् केही प्रशिक्षार्थी । धादिङ्गकै पिंडा घर भएका एकचन्द्र सापकोटा आफैले सीप सिकेको तालिम केन्द्रमा हाल प्रशिक्षकको रुपमा उनी कार्यरत छन् । गजुरी बजारमा सापकोटा इन्टरप्राइजेज नामक विद्युत सामग्री पसल समेत संचालन गरेका सापकोटा दिउँसो कार्यालयमा काम गर्दै साझँ बिहान बजार आसपासमा इलेक्ट्रीसियनको रुपमा सेवा बिक्री गर्छन् । विद्युतजडान सम्बन्धी तालिम प्राप्त पत्नीले पसल चलाउने एवं पतिले दिउँसोको जागिर, साझँ बिहानको थप बाहिरी काम समेतबाट राम्रो कमाइ गर्छन ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रकै पूर्व प्रशिक्षार्थी इरा श्रेष्ठ अहिले अमेरीकामा ब्युटिसियनको रुपमा रोजगाररत छिन् । त्यस्तै तालिम केन्द्रकै पूर्व प्रशिक्षार्थी एवं थाक्रे–महादेववेशी घर भई केही समय ब्युटिसियन प्रशिक्षक समेत रहेकी रिमा गुरुङ हाल अमेरिकामै स्वरोजगार भई राम्रो कमाई गरिरहेकी छिन् । उनीहरुलाई सीप विकास तालिम केन्द्रले उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सूचिकृत समेत गरेको छ ।
हातमा सीप भए खाडी मुलुकमा गएर पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण नै बनेका छन् सीप विकास तालिम केन्द्रका पुर्व प्लम्वीङ प्रशिक्षक हरि अर्याल । उनी अहिले दुवइमा बसेर राम्रो कमाइ गरिरहेका छन् । हरिले भने, ‘प्लम्बिङ, विल्डिङ इलेक्ट्रीसियन जस्ता कन्सट्रक्सन सेक्टरका विषयमा तालिम लिएर विदेश आउँनेका लागि खाडीमै समेत न्यूनतम मासिक ५५÷६० हजारबाट तलब शुरु हुन्छ । अधिकतम २ लाखसम्म तलब खाने नेपाली पनि थुप्रै छन्, मात्र आफुमा ज्ञान र दक्षतापूर्ण सीप हुनुप¥यो ।’
सीप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार एस.एल.सी. अनुत्तिर्ण वा आधारभूत शिक्षामात्र प्राप्त गरेका वेरोजगार यूवाहरुलाई खोजिखोजि निःशुल्क तालिम प्रदान गर्दै आएको तालिम केन्द्रले कुक, वेटर, सेक्यूरिटी गार्ड, प्लम्बिङ, इलेक्ट्रिसीयन, मेसन, हातेकढाई, वेमौसमी तरकारी उत्पादन, च्याउखेती, टेलरिङ, ब्युटिसियन, बेतबाँस, मोवाईल मर्मत, एसी फ्रिज मर्मत, मोटर रिवाइन्डीङ, एफएम रेडियो टेक्निसियन, कम्प्युटर हार्डवयर टेक्निसियन, एकाउन्टीङ प्याकेज, कम्प्युटर अपरेटर लगायतका तालिम निशुल्क दिदै आएको छ ।
कम्तीमा १ महिने (३२ कार्यदिन १६० कार्यघण्टा) देखि ३ महिने (३९० कार्यघण्टा) र ६ महिने (७३० कार्यघण्टा) सम्म अवधिका तालिम संचालन गर्ने यस केन्द्रले हाल सम्म ४ हजार भन्दा बढीलाई रसुवा, धादिङ्ग र नुवाकोटमा तालिम प्रदान गरिसकेको छ । केन्द्र प्रमुख पाण्डे भन्छन्, ‘कुनै अर्धशिक्षीत, एस.एल.सी. अनुत्तिर्ण, विपन्न र वेरोजगार यूवा हाम्रो संपर्कमा आउँछन् भने हामी उनीहरुलाई आजको श्रमबजार मूल्य अनुसार कम्तीमा मासिक ५० हजारसम्म आर्जन गर्नसक्ने ज्ञान, सीप र क्षमतायोग्य बनाएर पठाउछाँै । त्यो बमोजिमको योग्यता र क्षमता विकास गराउन सक्ने प्रविधि र सक्षमता हामीसँग अर्थात तालिम केन्द्रसँग छ ।’
रसुवाको कालिकास्थान देखि बेत्रावती बजार र नुवाकोटको बट्टार देखि गल्छी हुँदै पृथ्वीराजमार्ग आसपासमा विभिन्न पेसा व्यवसाय गरिरहेका मध्य ५० प्रतिशत भन्दा बढी सीप विकास तालिम केन्द्र गजुरीकै उत्पादित जनशक्ति रहेको भेटिन्छ । धादिङ्ग र नुवाकोटका स्थानीय एफएम रेडियोमा कार्यरत प्राविधिक मध्य करिव ५० प्रतिशत प्राविधिक त सीप विकासकै पूर्व प्रशिक्षार्थी छन् ।
‘हत्केलामा सीप थमाई श्रृजनशिल बनौं, उद्यमशिलता, रोजगारी र आर्यआर्जनको दायरालाई फराकिलो बनाई जिवनस्तर समृद्घ पारौं’ भन्ने आह्वान सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित यस प्रकारका सीप विकास तालिम केन्द्रहरु देशभरिमा जम्मा १६ स्थानमा रहेका छन् । ललितपुरको भैंसेपाटिमा विभागीय कार्यालय रहेको तालिम केन्द्रको मातहत धादिङ्ग केन्द्र सहित झापा, ईटहरी, ओखलढुंगा, जनकपुर, रौतहट, हेटौंडा, पोखरा, पर्वत, बुटवल, दाङ, नेपालगंज, जुम्ला, धनगढी र महेन्द्रनगरमा पनि यसै प्रकृतिका तालिम केन्द्र छन् ।यी तालिम केन्द्रहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकता अनुसार विभिन्न बिषयमा व्यावसायिक एवं सीपमूलक प्राविधिक तालिमहरु संचालन गर्दै आएका छन् ।
२०७५ भदौ १७ गते प्रकाशित