Tue. Mar 4th, 2025

मेरो मनको मेयर


देवीप्रसाद अधिकारी –

सयकडौ मेयर ज्युहरुले यो देशमा राज गर्नु भएको करीव डेढवर्ष बित्दैछ । यी पंक्तिकारले स्थानीय चुनावको लगत्तै अगाडी “सपनाको मेयर” शीर्षकमा लेखेको आलेख सम्झदा लाग्छ हाम्रा देशका प्रधानमन्त्री, मन्त्री, शीर्ष नेताहरु जस्तै मेयर ज्युहरुलाई पनि यो फुच्चे लेख त के संसारका भयङ्कर किताव, जर्नल, पत्रपत्रिका पढ्ने रुचि पटक्के छैन होला । यद्यपी उहाँहरुको भाषणको रटानमा भने हरेक क्षेत्र र विद्यामा ज्ञान भएजस्तो अलङकार सुन्न पाईन्छ ।

यी पंक्तिकार पनि कुनै बेला विद्यार्थी राजनीतिको माहोलमा होमिएका व्यक्ति हुन् । उनी राजनीतिबाट विद्धतै अलग छैनन् र हुन पनि सक्दैनन् । बीस वर्षे अध्यापनको कालखण्डमा पुर्व आधारभुत तहमा सावा अक्षर सिकाउने देखि विश्वविद्यालयको उच्च तहमा जीवनका आरोह अवरोहलाई कुनै साध्य र सोधसंग जोडेर जीवन र जगत प्रष्ट्याउने अवसर पाई रहँदा पनि राजनीतिसंग मन नजोडिएको दिन सायदै होला ।

किन चाहियो त सबैलाई राजनीति ? जबसम्म यो गम्भिर प्रश्नको सदाचार बुझाई आम मानिसमा हुदैन तबसम्म समाज र राष्ट्रले अपेक्षा गरेको नेतृत्व प्राप्त हुदैन । र यो नेतृत्वको खडेरीमा समृद्धिको सपना मरुभुमिमा बगैचा खोजे सरह हुन्छ । जनताले चुन्ने नेतृत्वको औकात नाप्ने व्यक्तित्व हिसाव किताब राख्ने, नैतिकता र आँचरणको फेहरिस्त केलाउने आदि क्षमता आम मतदाताहरुमा विकास नभएसम्म आफुले चुनेको नेतृत्ववाट आश गर्नु भनेको निबुवाको बोटमा नासपाती खोज्नु जस्तै हो । टिकट वितरणमा गुट, फुट र लुटलाई आधार मान्ने । मत वितरणमा पार्टी, नेता, आफ्ना र चाप्लुसिलाई प्राथमिकता दिने अनि ठुला ठुला अपेक्षा गरेर केहि नपाए पछि पछुतो गर्नुको के औचित्य ।

प्रसंग शीर्षकसंग जोडौ । परिदृश्य–१– कुनै (केहिदिन अघि) आफ्नो पालिकाको कार्यालय पुगेको थिए । सेवाग्राहीको घुइचोले त्यो भाडाकै भएपनि ठुलो घर टनक्कै भरिएको थियो । एउटा आवाज सुने –भोट माग्ने बेला त जेनि गर्दिन्छु भन्ने उ आज कोहि छैन नेताहरु । एउटै काम गर्न कति दिनको सास्ती ।

परिदृष्य २, काठमाण्डौ भित्रको यात्रामा माईक्रो चालक संगैको सीटमा केहि दिन अगाडी चालककै मुखबाट सुनेको –“१०० दिनमा राजधानी के के न बनाउछु भनेको सुनेर आफ्नो पार्टी छोडेर भोट हालेको साला आज यो बाटोको खाल्डो झन् बढेर काँ जोतिने हो थाहा छैन । के भोट दिनु यस्तालाई ।”

यस्तै आवाज र परिदृश्यहरु देशभरीको नगरमा देख्न र सुन्न पाईन्छ । यो आलेखको औचित्य कुनै कसै प्रति व्यक्तिगत आक्षप भन्दा पनि समग्र पद्धति प्रतिको चिन्तन हो । यो स्वयम लेखकले चाहेको एक आत्मपरक चिन्तन हो ।

म यस्तो सोच भएको मान्छे हैन जो २१ औ शताब्दीमा एउटा नगरपािलका वा जिल्ला खुल्ला सौचमुक्त बनाउन कुनै विदेशी डलर चापियोस् । यहाँका स्कुल, कलेज, अस्पताल जस्ता आधारभुत कुराहरुको विकास एवं संचालन गर्न र न्युनतम आवश्यक्ता पुर्ती गर्न कोहि कतैको सहयोग चाहियोस् । यो केवल जनताको कर र राज्यले प्रवाह गर्ने ढुकुटीवाट सम्भव छ ।

सिंगापुरको विकासको मोडेललाई हेर्ने हो भने ली कवान यु ले अवलम्वन गरेको बढि खुल्ला र सल्लाहपुर्ण नेतृत्वको परिपाटीलाई बढावा दिदा नै देशले विकासमा छलाङ मारेको हो । यो होईनकी सिङ्गापुरको विकास कुनै दातृ निकायले गरेका हुन् । अर्को छिमेकी चीनको मोडेल हेर्ने हो भने पनि संस्कृति र कामप्रतिको महत्व नै उक्त देशको विकासको प्रमुख आधार हो । उसले अहिले आरोप खेपे जस्तो न्युन ज्याला र स्वार्थको लागि मुद्राको प्रयोग पनि उसको समृद्धिको आधार होईन ।

यी फरक नजिकका अभ्यासका बाबजुत हामीले हाम्रो नेतृत्वमा कुनै बदलाब पाएनौ । पदमा जान जस्तोसुकै हरकत गै सकेपछि “कसको बाउले के गर्न सक्छ” यो दरिद्र र नवसामन्ति सोचवाट कुनै नेतृत्वले उन्मुक्ति पाएजस्तो लाग्दैन । उसो भए एउटा सामान्य मतदाताको मेयरहरुप्रति अपेक्षा के छ र मेयरज्युहरुले के गर्न सक्नुहुन्छ ?

यसका सटिक उत्तरहरु छन् । पहिलेको अपेक्षा हो मेयर हुन की जो कुनै नेता हुन ती सवै आफ्नो र आफ्नाको हैन आम मतदाताको समृद्धि देख्न चाहुन् । यो कसरी सम्भव छ त भन्ने सामान्य व्याख्यामा अर्को सबालको जवाफ मिल्छ ।

मेयर हुनु भनेको कुनै देशको कथाना भने जस्तो वा हाम्रो पञ्चायतकालीन राजा हुनु हैन । जहाँ जहिल्यै लावा लस्कर आसेपासेको घेरो आफ्नो घरमा व्यक्तिगत काममा जाँदा पनि महङ्गो गाडी, त्यस्तै खर्च मनोरञ्जनमा समय र धनको खर्च । स्तुतिगानमा रमाउने । सधै रिबन काट्न र एउटै रटानको भाषण छाट्न । प्रमुख अतिथि नै बन्न वा आफु जा उभिएपनि सबैभन्दा ठुलो हु भन्न । यी पंक्तिकारको मनको मेयर यस्तो होस् जो लावा लस्करमा छैन । एक्लै जनताको घरमा पुगोस् । जनताको करबाट किनेको महङ्गो गाडी र सुख सुविधा भोग गर्न भन्दा अरुको भलाईमा के गर्न सकिन्छ भनेर कम्तिमा दिनको एक पटक सोचोस् ।

दैनिक राष्ट्रिय अन्तराष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको आलेख कम्तिमा दुईवटा अध्ययन गरोस् । आफ्नो रुचीको विद्या र पेशा सम्वन्धित कम्तिमा महिनामा एउटा पुस्तक पढोस् । व्यक्तिगत मनोरञ्जन र आसेपासे संगको भलाकुसारी अत्यन्त न्युन गर्दै विभिन्न पेशा व्यवसायमा सफल अनुभवि र वौद्धिक व्यक्तित्वहरु संग कम्तिमा महिनामा एक पटक वसोस् । विकास र समृद्धिको विषयमा बहस वनोस् । खाली आफ्ना कुरा राख्ने हिड्ने हैन जनताका कुरा ९५ प्रतिशत सुने आफ्ना कुरा ५ प्रतिशत राख्ने होस् ।

सबैभन्दा ठुलो कुरो हाम्रा मेयर ज्युहरुको दिमागमा आफ्नै हैसियतमा बसेर आफ्नै स्रोत र साधनबाट समाजलाई परिवर्तन गराउन सकिन्छ भन्ने सोच पलाओस् नकी विदेश दातृ निकाय गुहार्ने सदाचार सहयोग र समानता दैनिक कार्य क्षेत्रको मुल मन्त्र वनोस् । विकासको नाममा कतिका हेरे जस्तो गरेर केहि कार्यकर्ता पाल्ने किसिमको नभई अत्याआवश्यक क्षेत्रमा खर्च गर्ने सोच पलाओस् । शिक्षा स्वास्थ्य रोजगारीमा विशेष ध्यान जाओस् । विदेशिएका युवाहरुलाई स्वरोजगारको योजना भित्र आफ्नै भूमिका केहि गर्ने वातावरण वनाउने मन जागोस् ।

विद्यालय वा शिक्षालयमा राजनैतिक व्यक्तिहरु पस्नुभन्दा सम्वन्धित पेशाका दक्ष, योग्य व्यक्तिहरुलाई व्यवस्थापनको जिम्वेवारी दिने विनियम बनाउने सोच पलाओस् । समाज परिवर्तनको घोटक शिक्षा हो भन्ने कुराको चेतना जागोस् आफ्नो नगरभित्र पठन संस्कृतिको लागि बाल, युवा, प्रौढ, बुढा पुस्तकलाई अध्ययन स्थल, अध्ययनका सामाग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउने योजना निति तथा कार्यक्रममा लेखिने मात्र हैन कार्य योजना पनि परोस् । आफुले पारित गरेको प्रत्येक योजना कसरी सफल बनाउने भन्नेमा ध्यान जाओस् । हरेक योजना कार्यन्वयनको चरणमा पटक पटक समिक्षा होस् ।

अन्यथा यी सबैभन्दा पनि सम्बन्धित नगरबासीहरुले हालका मेयरलाई पुनः जिम्वेवारी दिने आशा राखेर काम गरेको देख्न पाईयोस् ।

२०७५ भदौ १६ गते प्रकाशित

About The Author