
१५ भदौ, काठमाडौं
प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति/प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य २ पाहुनामध्ये १ भोलि र अर्का एक पर्सि फर्कने छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै ११ बजे फर्कने कार्यक्रम तय भएको छ । आन्तरिक राजनीतिका कारण हसिना समापनअगावै स्वदेश फर्कन लागेकी हुन् ।
म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा साढे चार बजे स्वदेश फर्कने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ आठ बजे फर्कंदैछन् ।
बिहीबार काठमाडौं आइपुगेका मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गर्नेछन् । सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार कार्यक्रम छ ।
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार आफ्नो देश फर्कने छन् ।
२०७५ भदौ १५ गते प्रकाशित