मनिष दुवाडी / १४ भदौ, धादिङ –
गजुरी गाउँपालिकाले संचालन गरेको ‘प्रसुुती–प्रतिक्षा घर’ लोकप्रिय र नमुना बन्दै गएको छ । गर्भवती महिलाहरुको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाले आफ्नै खर्चमा संचालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलाहरुलाइ राख्ने गरिन्छ । उनीहरुले स्वास्थ्य सस्थामै बच्चा जन्माउने गर्दछन् ।
साविकको ४ वटा गाउँ विकास समिति मिलेर बनेको गजुरी गाउँपालिकाको राजमार्ग भन्दा बाहिरी क्षेत्रहरुमा सीमान्तकृत चेपाङ र विपन्न बर्गका स्थानीयहरुको बसोबास रहेको छ । गाउँ गाउँमा रहेका महिलाहरुले बच्चा जन्माउने बेलामा भोग्ने गरेको दुःख कष्ट र समस्यालाइ समाधान गराउने पहल स्वरुप गाउँपालिका आँफैले प्रसुती प्रतीक्षा घर संचालन गरेको हो । बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खानेबस्ने लगायतको सम्पुर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ ।
प्रसुती प्रतीक्षा घर गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिकै संचालन गरिएको छ । गर्भवती महिलालाइ ब्यथा लाग्ने वित्तिकै स्वास्थ्य केन्द्रमा लैजाने गरिन्छ । आमा र बच्चाको सुरक्षा र घरमा हुने सुत्केरी शुन्य बनाउनको लागि प्रतिक्षा घर संचालन गरिएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले बताइन् । उनले भनिन्, ‘गर्भवती महिलाको लागि सवैभन्दा ठुलो चुनौती भनेको बच्चालाइ स्वस्थ र सुरक्षित जन्म दिनु हो । यो संगै स्वास्थ पनि जोडिएर आउँछ, आमा र बच्चाको स्वास्थ्यको लागि र घरमा हुने सुत्केरी शुन्यमा झार्ने अभियान स्वरुप हामीले प्रसुती प्रतिक्षा घर संचालनमा ल्याएका हौँ ।’ गाउँ गाउँका महिलाहरुमा जनचेतना कम हुँदा गर्भवती र सुत्केरी अवस्थामा हुने लापरबाहीबाट आमा र बच्चा जोगाउनको लागि नयाँ उपाय अवलम्वन गरिएको ढुङगानाले बताइन् ।
प्रसुती प्रतिक्षा घरमै बच्चा जन्माउने दिनको प्रतिक्षामा रहेकी गजुरी गाउँपालिका वडा नं १ आदामाराकी संविता चेपाङले भनिन्, ‘मेरो यो तेस्रो बच्चा हो, दुइवटा बच्चा घरमै जन्माएँ, अहिले स्वयंसेविका दिदिहरुले स्वास्थ्य सस्थामा जानुपर्छ भन्नुभएकाले यहाँ आएर बसेको हुँ । घरमा सुत्केरी हुँदा आमा र बच्चाको लागि खतरा हुनसक्छ, यहाँ बस्दा केही समस्या आयो भने पनि तत्काले अस्पताल जान सकिन्छ भनेर यहाँ बसेको हुँ ।’
गभर्वती महिलाहरुमा जुनसुकै बेला जटिल अवस्था आउने भएकाले गाउँ गाउँमा तत्काल उपचार सम्भव पनि नहुने र आउन जानको लागि समय धेरै खर्च हुँदा ज्यान नै जान सक्ने अवस्थालाइ मध्यनजर गरेर गर्भवती महिला लक्षित सेवा सुरु गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताए । उनले भने, ‘सवै वडाहरुमा गाउँपालिकाले गर्भवती महिलाको सुविधाको लागि संचालन गरेको प्रतिक्षा घरको विषयमा प्रचार प्रसार गर्न लगाएका छौँ । महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ खटाएका छौँ ।’ गभर्वती महिलालाइ स्वास्थ्य सस्थामा बच्चा जन्माउन पठाए बापत र प्रतिक्षा घरमा बस्न पठाए बापत ग्रामिण क्षेत्रका स्वयंसेविकालाइ समेत नगद चार सय भत्ताको ब्यवस्था पनि गरिएको रेग्मीले बताए ।
प्रसुती प्रतिक्षा घर अहिले ४ शैयाको रहेको छ । यसै आर्थिक वर्षदेखी शैया बढाएर थप सेवा सुविधा राखिने गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले सुत्केरी र गर्भवती महिलाले प्रयोग गरेको एम्वुलेन्स सेवामा कुनैपनि शुल्क लिने गरेको छैन । गाउँपालिकाकै खर्चमा २ वटा एम्वुलेन्स भन्सारसम्म आइपुगिसकेको र नयाँ एम्वुलेन्स आएपछि साविकको एउटा गाविसको लागि एउटा एम्वुलेन्सले काम गर्ने गरि परिचालन गर्ने तयारी भइरहेको रेग्मीले जानकारी दिए ।
२०७५ भदौ १४ गते प्रकाशित