Thu. Mar 13th, 2025

मोदीको नेपाल आगमनले देशैभरिका उडान बन्द

१४ भदौ, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द भएका छन् । त्रिभुवन विमानस्थल बन्द गरिँदा क्षेत्रीय उडानसमेत प्रभावित भए । मोदी विहीबार बिहान काठमाडौं आइपुगेका छन् ।

विदेशी पाहुनाहरू आउँदा काठमाडौंमा शान्ति सुरक्षाका नाममा सवारी साधन, शैक्षिक संस्था एवं पैदलयात्रीलाई समेत रोकिएकोमा सरकारको आलोचना भइरहेकै बेला देशैभरिका हवाई यातायातसमेत बन्द गरिएको हो ।विहीबार र शुक्रबार काठकाडौंमा हुन लागेको चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु काठमाडौं आउने क्रम दुई दिन अघिदेखि नै चलेको हो । यसक्रममा काठमाडौं उपत्यकाको यातायातमा केहीबेर अवरोध आउने गरेको भएता पनि हवाइ उडान चाहिँ प्रभावित भएको थिएन । तर, विहीबार भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा देशैभरिको हवाई उडान दुर्इ घण्टासम्म बन्द गरियो ।

मोदी काठमाडौं आइपुगेको केही समयपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा अवतरण गरेकी छन् । हसिनापछि थाइल्याण्डका प्रधानमन्त्री प्रयुट नेपाल आउने क्रार्यक्रम छ ।आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

मोदी विमानस्थलबाट सोझै सम्मेलनस्थल हाेटल साेल्टी गएका छन् । यसअघि मोदीले आजै पशुपतिनाथमा पूजाअर्चना गर्ने बताइए पनि यो भोलिका लागि सारिएको छ ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्षित गरी बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टासम्म बन्द गरिएको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान-अवतरण बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् ।काठमाडौंको विमानस्थल दुई घण्टाका लागि बन्द गरिँदा पोखरा, बिराटनगर, भरतपुरलगायतका  विमानस्थलहरु पनि प्रभावित भएका छन् । देशैभरिका विमानस्थलमा फ्लाइटहरु डिले भएका कारण हवाइ यात्रुहरु प्रभावित बनेका छन् ।

२०७५ भदौ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: