

केशव दुवाडी –
ल भट्टी पाठ सुरुभयो सबै जना जनै पूर्णीमाको भोलिपल्ट जनै जमानतमा राखेर बोत्तल समाउनुहोस तऋ म संकल्म पढ्छु ……… भट्टी ओम् तद्सद् ओम बियर ( ३ पटक) ओम भोडका (६ पटक), रेडलेबल, ह्वाइट लेबल, ब्लाकलेबल, श्रीमद भट्टीदास आज्ञाया, भट्टी पसले समस्त भट्टीरस पिवनस्य सकल जगत गाईजात्रा कारणो, भट्टी नाम सम्बतसरे,श्री सुर्ये भट्टी भित्रै पायने, भदौको भट्टीमा गाईजात्रा गाइने , जाँड धोक्न धाइने, आनन्द यसैमा पाइने, नेता, नेतृ, डकटर, मास्टर,पत्रुकार अधिकारकर्मी, सबैलाई चाहिने , पैसा तिरे पछि सित्तै पाइने, लाग्र्द गए पछि उधारो पनि मागिने, कहिले काही पैसा नतिरी भागिने, अनमोल भट्टीपाठ गाइन निमिक्त अहं पिवष्ये !! ल चियर्स ………..
अह…..
आदरणीय भट्टी प्रेमी महामहिमहरु अडकल गीता पाठगर्ने अदृष्टवादी अडकल पच्चुहरुले आँखा चिम्लेर कल्पना गरेका विभिन्न महात्म्यहरु घोकेर मरेको मान्छेलाई समेत ठगीखाने भाँडो बनाउउँदै अर्काको नबैग्रह शान्त पार्ने नौटंकी रचेर आफनो रोजीरोटी चलाउने अनि एक रुपयाँको गोदानले जजमानज्यूहरुको हजार हराम र बीसौ बिरामहरुलाई सफाचट गरी ‘समस्त पाप निवारणार्थम्’ भन्दै अर्काको ग्रहदशा र पापको पोको टपरी सँगै टाउकोमा टक्टकाउने पवित्र पेशामा लागेको म अपवित्र बाहुनको दिमाग भट्टीरसले डाउन भए पछि आमलू परिवर्तन भएर आयो । अध्यात्मवादका गुरु वेदव्यासको दिमागले विना भट्टी ४ लाख भन्दा बढी श्लोक भएको अठार थरी पुराण रचना गर्न सक्छ भने म टपरटुइयाँ बाहुनको धमिरा लाग्न नभ्याएको दिमागले एक बोत्तल भ्याए पछि भट्टी पुराण रचना गर्न नसक्ने त कुरै भएन । आइँस्टाइनको समय सापेक्षवाद र कालीदासको पुराना र अफाप भएका कुराहरु छाडी युग सापेक्ष हुनु पर्छ भन्ने नियमर्ला विचार गर्ने हो भने पनि थोत्रो भैसकेको अरु पुराण भन्दा मेरो सर्वव्यापी भट्टी पुराण अवश्य लोकप्रीय हुने छ । किनकि भट्टी भन्ने कुरा सयकडा पन्चान्नब्बे जनाको मुटुको धडकन बनिसकेको मेरो अडकल छ ।
पुराण हिन्दको, कुरान मुस्लिमको बाइबल क्रिस्चियनको तर मेरो भट्टी पुराण सबैको । मैले नबुझेको हो कि क्या हो ?भट्टीरस पानको स्वतन्त्रता सबै धर्ममा पो छ कि ? नत्र सबै किन झुम बराबर झुम कि हुन्थे र ? उहिल्यै सत्ययुगमा स्वर्गबासी देवताहरु सोमलता भन्ने वनस्पतीको रक्सी बनाएर खाँदै अपसराहरुसँग झुम बराबर झुम गर्थे रे । त्यसैले देवभाषामा भट्टीरसलाई सोमरस भन्न थालियो । सुर अर्थात् देवता ले पान गर्ने हुनाले यसलाई सुरा पनि भनिन्छ । सोमरसले मदमत्त भएर गुरुआमा अहिल्यालाई दुष्कर्म गर्ने चन्द्रेको पुत्रो इन्द्रेको दरवारमा सुरा खाएर सुन्दरीको तालमा ठुम्का नाच्ने देवताहरुको बारेमा त तपाईँहरुले एक भक्त भएर एकचित्त सँग सप्ताह महापुराण सुन्दा थाहा पाउनु नै भयो होला, होइनर ?
त्यसैगरी महिषासुरको मुन्टो मर्काएर देवताको रक्षा गर्ने रिपुमर्दिनी रणचण्डी पनि रक्सीले मातेर खितिति….. हाँसेको कुरा पनि सुनिएकौ हो । काठमाण्डौको गुह्येश्वरीमा गएर त्यहाँ चढाएको पवित्र जल अचाउनोस् त त्यसमा पनि भट्टी ा गनाएर ल्याउँछ । गुह्येश्वरीलाई पनि चल्ने भएकोले यसलाई कसै कसैले गुह्येश्वरीको जल पनि भन्ने गर्छन् । मर्चाहाली अन्न, फलफुल कुहाएर वैज्ञानिक बाष्पीकरण विधिबाट तयार पारिने भट्टी ाको महिमा अद्भूत हुन्छ ।
त्यसो त आजभोलिका युवाहरु दूध, दही,घिऊ भन्दा भट्टीरस नै बढी रुचाउँछन् । कारण किनकि दूध दही घिऊ खाँदा शरीरमा कहिले लाग्ने कहिले तर भट्टीरस त खाने बित्तिकै लाग्ने ! हाताहाती लाग्ने कुरा नखाई उधारो लाग्ने कुरा किन खाने ?
कसैले एकथप्पड गालामा बैठ्याउँदा पनि वाङ्ग परेर बस्ने पकभुत्ता पुडमाडहरु पनि यसो एकबोत्तल खुवाइ दिए पछि रक्सिदैँ लाठो बोकेर ‘लौ आइज’ भन्दै जाइलाग्ने गर्दछन् । त्यसैले भट्टीरस लाई रक्सी पनि भनिएको हो । समयको अन्तरालसँगै भट्टी ाले विभिन्न नाम कमाएको पाइन्छ । गाउँतिर यसलाई बोत्तलमा हालेर खोयाको बिर्को लगाएर राखिने हुनाले ‘खोयाबिर्के’ पनि भनिन्छ । ठर्रा, भेली, बिजुलीपानी, चुल्लु दारु यसको लोकल नाम हुन् भने ,हुस्की ब्राण्डी, रेडलेबल, ब्लयाकलेबल, रम बियर, भोडका आदि स्पेसल नाम हुन् ।
नाम,दाम र खाने ठाम फरक भए पनि सबै भट्टीरसको काम चाहिँ एउटै हुन्छ । हिजोआज बजारमा प्लास्टिकको पोकामा पनि पाइने हुनाले म जस्ता भट्टीदास बाजेहरुलाई भेष बदलेर भट्टीमा जान नपर्ने भएकोले यसलाई ‘बाहुने पोका’ भन्दा उपयुक्त हुन्छ होला ।
गाँजा खानेलाई गँजडी, भाङ खानेलाई भाङ्रे, धतुरो खानेलाई धतुरे स्म्याक खोनेलाई स्म्याकलर, भनिए जस्तै जाँडखानेलाई जड्याह, रक्सीखानेलाई रक्स्याह, ट्वाँट खानेलाई ट्वाँटे, आदि भनिन्छ । सबैलाई समेट्ने गरी नेपालीमा पियक्कड र अंग्रेजीमा ड्रङ्कड भनिन्छ । चुरोट, सूर्ति, गाँजा, चरेस, भाङ धतुरो आदि दिगम्बर भोलेबाबको प्रिय अम्मल भएको हुनाले मत्र्यमण्डलका शिवभक्तहरुले पनि उनैको सीको टिपेर आँखा चिम्लिँदै स्वार स्वार तानी सात दिन सम्म इन्तु न चिन्तु भएर सुत्ने गरेको भेटाउन सकिन्छ ।
शिवबुटीकै फर्मुला चोरेर आजको संसारले स्म्याक, हिरोइन, ब्राउनसुगर, कोकिन जस्ता अनमोल मालहरु बनाएका हुन् । कालभैरवको पुजा गनोस् या गुह्येश्वरीको अर्चना , भद्रकालीको भाकल गर्नोस् या शिबको अर्चना सबैमा लागु पदार्थ चाहिन्छ क्यारे । यसरी देउदेउता र इष्टमित्र सबैलाई फिट हुने पवित्र प्रसाद भएको हुनाले यो भट्टीरस पनि शिवझै शर्वव्यापी भएको हुनु पर्छ । तपाइ जहाँ भए पनि त्यो त्यही पाइन्छ । भाङ, धतुरो गाँजा आदि खाएर खल्ली भएका भोलेबाबाले कालकूट बीष पनि सििजलै पचाए जस्तै मत्र्यमण्डलका लागुपदार्थवादीहरुले पनि जुत्ताको पालिस र माउसुली पनि पचाउन थालेको समाचारहरु सुन्नमा आएका छन्
राति पिशाब फेर्न उठ्न डर लागेर ओछ्यानमै तुक्र्याउने ओछ्यान मुतुवाहरु ठर्रा लेबल खाए पछि राता राता आँखा पार्दै खोचे कुरा झिकेर तिकडमबाजी गर्दै मडारिएर लाठो बोक्दै झगडा गर्न आइ लाग्छन् । त्यसोत खान नपाएर परिवारको पेट दाबिलो जस्तो चेप्टो भए पनि लुगा सबै चिराफार भएर पुस महिनामा नाङ्गै लम्पसार हुनु परे पनि केलाइ टाउको दुखाउने हो टँ्वाँके जिन्दगीमा भनेर हल्लिदै श्रीमतीको टाउको टुटिलो उठाने झल्लीहरुको विरोधमा विदेशी डलर नझारिएको पनि हैन । सेलीब्रेटी महिला अधिकारकर्मीहरुले सिँगारिएर टीभीमा नबोलेको पनि हैन । केन्द्रबाट सोली सिष्टमा झर्ने एनजीओको श्रोत थापेर पिडित महिलाहरुको समूह नबनाइएको पनि हैन । तर के गर्नु रक्सी धोक्ने स्वतन्त्रता पनि मानव अधिकार भित्र पर्दो रहेछ कि क्याहो , दिनभर भट्टीरस विरुद्ध आगो ओकलेर महिलाको मानवअधिकारको पक्षमा बोल्ने साहेब साहेबनीहरु बेलुकाको ककटेलपार्टीमा डोरनर समेतलाई सामेल बनार्ई योजना समिक्षा गर्दा रहेछन् । ।
श्रीमतीको टाउकोमा टुटिलो उठाउन होस् या विरोधीको खप्पर फुटाउन होस्, भट्टीरस नै चाहिन्छ । जितौटे नेताको विजय भोजमा मात्र होइन हरौटे नेताको मन बहलाउन समेत भट्टीरस नभई हुदैन । मिलनमा पनि चाहिने, बिछोडमा पनि चाहिने, तारे होटेलमा पनि पाइने, भट्टीमा पनि पाइने । नून खुर्सानीसँग खाए पनि ठीकै, कुखुराको साँप्रासित खाए पनि ठीकै । आजको सभ्य समाजमा भट्टीरसको महिमा अपरंपार छ ।
भट्टी लाई प्रतिवन्ध लगाउने हो भने त नेपाल बन्द र चक्का जाम मात्रै होइन अन्तराष्ट्रिय हवाइ मार्ग नै बन्द हुन्छ । सबै अन्तराष्ट्रिय जहाजमा टन्न खान दिने व्यवस्था हुन्छ । कतिपय जातिको त भट्टीरस बिना बिहेबारी मात्रै होइन पूजापाति नै चल्दैन । बिहे छिन्न बेहुलीको घरमा जाँदा चारपाथी, रक्सी लिएर जानु पर्ने, कुलदेउताको पूजा गर्दा रक्सी नभइ नहुने प्रथा परंपरा मतुवालीहरुको रहेको छ । जातले पाको हातले खाको भन्नेहरु पनि धेरै छन् । पहिला पहिला बाहुनले खान हुदैन भनेर नखाएका बाहुनहरु खान थाले पछि पुर्खाहरुको भाग समेत आफैले खान पर्छ भन्दै अरुले भन्दा बढी खान थालेका छन् रे । समाबेशी लोकतन्त्रमा खाना पनि त समोशी हुनु प¥यो नि । रक्सी खायो काम पट्यायो । अलि अलि लागुन्जेल रंग रउस र पूजापाति, धेरै भए पछि गालिबेइज्जती । यस्तो रमाइलो रक्सीलाई पनि कसैले छाड्न सक्ला ? ज्यान गए पनि छाड्दैन ।
मगरमुखियाको सोरठी होस् या गुरुङकाजीको रोधी, तामाङदाइको सेलो होस् या गाइने दाइको सारगीँ भट्टीरसको मेजमानी बिना जम्मैदैजम्दैन । कविजीको कल्पना त बिजुलीपानीमा पौडी नखेली फुर्दैन रे ! न पत्याए टन्न मद्य धोकेर त्यसकै विरुद्धमा किरमिर पार्ने म जस्ता पदुवा लेखकहरुलाई सोध्नोस् । एक गिँलास लागाए रमझ हुने, दुई गिलास लगाए नारी निमोठ्न सकिने, तीन गिलास लगाए जिब्रो र खुट्टा लर्बराउँदै बर्बराउने र चार गिलास लगाए पछि कता कति टेक्दै गल्लीम घोप्टो परेर परमान्दन्द प्राप्ती हुने भट्टीरसले अमेरिकी पूर्व राष्ट्रपति रुजेबेल्टको चार स्वतन्त्रता मध्ये भएबाट मुक्ती भन्ने कुरालाई सफलीभूत बनाउन सक्छ । मैले कुन्नी कुनचाहि शास्त्रमा हो ‘लज्जामेकम् परित्यज्ज सर्वत्र विजयी भवेत्’ । भन्ने सुउक्ती भन्ने की कुउत्ती भन्ने जे भने पनि आजभोलि यानि बहुदलको जमाना सुहाँदो कुरा पढेको थिएँ । त्यसको अर्थ यौटा लाज भन्ने वस्तुलाई परित्याग गरेपछि यत्र तत्र सर्बत्र जीत हुन्छ भन्ने हुँदो रहेछ । लाज हराउने, मन नपरेको मान्छेलाई पनि मन पराउने, शत्रूलाई मित्र र मित्रलाई शत्रू गराउने यो झोल वास्तवमै अनमोल रहेछ । एकट्वाक ट्वाँकको भरमा मतदाताहरु त मक्ख भएर चुनावलाई स्वतन्त्र, निष्पक्ष एबं धाँदली रहित पार्दा रहेछन् । किन तपाइहरुलाई थाहा छ ? बिजुलीपानीले बेहोस भए पछि अडबे खडबे भए पनि सम्म देखिदो रहेछ । डढेलोको ठुटो जस्तो कालो पनि नैनासुत जस्तो सेतै देखिदो रहेछ । यस्तो तिलस्मी भट्टीरसालाई राजनीतिमा नघुसाए त राजनीति चल्दैन नि होइनर ? नत्र बोत्तल छाप जिन्दाबाद भन्ने नाराले अध्याधिक मत ल्याएरु चुनाव जित्ने नेताहरु छ्यासछ्यास्ती किन पाउन सकिन्थ्यो र ?
टन्न भट्टीरस धोकेर बसको सिटमा ढसमस्स बस्नोस् त तपाईको मुखारबिन्दबाट आएको सुगन्धले तपाई वरिपरि भीड नै लाग्दैन । अनि तपाई घुरेर यात्र गर्न सक्नु हुन्छ । भट्टीरसको महिमाले फुटेको कानो कौडी डगाउन प¥यो भने पनि दाँतबाट पसिना निकाल्ने कन्चुसहरुलाई पनि भट्टीमा भोज लगाएर मोज गर्ने बनाउँछ । श्रीमतीको फरिया बेचेर होस् या भात पकाउने कसौडी बन्धकी राखेर होस्, यति नभए कसैलाई ढाँटेर होस् या कसैको खल्ती काटेर होस्, ‘नगदप्रसाद’ हात परे पछि भट्टीमा कट्छ रात । टन्टा पनि छैन टेन्सन पनि छैन, डर पनि छैन,घिन पनि छैन कस्तो अनमोल स्वतनत्रता ! गल्लीमा मुन्टो जोतिए पनि जोतियोस् भुस्याह कुकुरले मुखमा म्वाइ खाएर दाहिने खुट्टा उचालेर तुक्र्याए पनि तुक्र्याओस् । आफूलाई सँसारको चक्रबर्ती राजा जस्तो लागि हाल्छ अरुलाई के मतलब ?
मालथसको जनसंख्याको सिद्धान्तलाई माथ गर्दै पृथिवीको भारलाई घटाउन सफल भट्टीरस र लागु औषधीलाई अनिवार्य गर्ने हो भने परिवार नियोजनको टन्टा नै खतम हुन्छ । व्यर्थमा बजेट र जनशक्ति खर्च गर्नु भन्दा सरकारी सुको पनि खर्च नहुने यस्तो काइदा अपनाएमा देश चाँडै नै फाइदामा जान्छ । बारै महिना बारैकाल जहाँ जहिले जसरी खाए पनि हुने यस्तो अनमोल बस्तुलाइ हटाउने हो भने देशको काम नै जाम हुन्छ भने धरैको मुखमा माड पनि लाग्दैन । पुलिसले हात बाँधेर बस्नु पर्ला, अदालतका उँघेर बस्नु पर्ला डाक्टरहरु बेरोजगार होलान्, अनि परेन फसाद ? प्रतिदिन लाखौँ लिटर खपत गर्ने भट्टीरस प्रेमी मान्छेहरु हातमा बोत्तल बोकेर गाउँ गाउँबाट, बस्ती बस्तीबाट सहर सहरबाट लौ आइज भन्दै सडकमा ओर्लिए भने के चाला होला ? ल कल्पना गर्नोस् त ?आजभोलीको जमाना फेरी बहुदलको छ । भट्टीरस मन नपाराउनेहरु त चामलमा बियाँ भेटिए जस्तै हुन् ।
‘जंगली अवस्थामा बाहेक सबै देशमा किताबले साम्राज्य चलाएको’ भन्ने भोल्तेयरको भनाइलाई मानेर किताब पसल राख्नु भयो भने तपाईको पसल टाट पल्टिन्छ तर भट्टी पसल राख्नोस् त महल र मर्सिडिज कार सजिलै हात लाग्छ । त्यसैले ऋणमाथि ऋण थपेर रासायनिक मलकारखाना वा शिक्षण सँस्था खोल्नु भन्दा भट्टीरस उत्पादनमा व्यापक वृद्धि गरी भट्टी विस्तार गर्नु बुद्धिमानी ठहर्छ । करोडौँ जनसंख्या भएको देशमा प्रतिदिन प्रतिव्यक्ति कम्तिमा चार लिटर भट्टीरस खपत गर्ने योजना बनाउनु पर्छ । त्यसो भयो भने राष्ट्रिय अर्थतन्त्रमा बृद्धि भई हामी विदेशी ऋणबाट मात्रै होइन संसारबाटै मुक्त हुन्छौं ।
२०७५ भदौ ११ गते प्रकाशित